नवलपरासीमा वर्षासँगै आएको विनाशकारी हुरी: विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

डिसी नेपाल
२७ जेठ २०८३ ७:१४

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी क्षेत्रमा मंगलबार अपराह्न आएको वर्षासहितको तीव्र गतिको हुरीबतासले ठूलो भौतिक क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार अचानक आएको सो हुरीका कारण स्थानीय बासिन्दाका १७ वटा घर र दुई वटा गोठमा क्षति पुगेको हो।

हुरीको तीव्र गतिका कारण विभिन्न घरका टिनका छानाहरू उडाएको छ भने तीव्र हावाले कतिपय घरमा रुखका हाँगाहरू भाँचेर खसाल्दा भौतिक संरचनामा क्षति पुगेको छ। यसैगरी केही कच्ची घरहरूका पर्खाल चर्किएका छन् भने एउटा घरको ब्लकको पर्खाल नै भत्किएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक विवरण अनुसार यस प्राकृतिक विपत्तिबाट स्थानीय भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक र ओमबहादुर कुमाललगायतका सर्वसाधारणको घरमा क्षति पुगेको छ। यसका साथै मनबहादुर राना र केमबहादुर विकका गोठहरूमा पनि हुरीले नोक्सानी पुर्‍याएको छ।

स्थानीय कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको तथा पार्वती विकको घरको एउटा कोठाको ब्लकको पर्खाल नै खसेको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले केही घरहरूमा भने रूखका हाँगा खस्दा सामान्य क्षति मात्र भएको बताएका छन्।

सुखद कुरा, तीव्र गतिको हुरी र वर्षा भए तापनि यस घटनाबाट कुनै पनि मानवीय तथा पशुचौपायाको क्षति भने हुन पाएको छैन। साथै भौतिक क्षति भए पनि अहिलेसम्म कुनै पनि परिवार पूर्ण रूपमा विस्थापित हुनु नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *