विश्वकप फुटबलको नयाँ युग: तीन देशका १६ सहरमा सांगीतिक धुनसँगै सुरु हुँदै फुटबलको महाकुम्भ
कठमाडौं। विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ ‘फिफा विश्वकप २०२६’ इतिहासमै पहिलोपटक उत्तर अमेरिकी महाद्वीपका तीन शक्ति राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भव्य रूपमा सुरु हुँदैछ।
यसपटकको विश्वकप मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित नभएर संगीत, मनोरञ्जन, ग्ल्यामर र सांस्कृतिक विविधताको एक वैश्विक उत्सव बन्ने भएको छ। फिफाको परिमार्जित संरचना अनुसार इतिहासमै पहिलोपटक ४८ वटा राष्ट्रहरूले विश्वकपको प्रतिष्ठित ट्रफीका लागि मैदानमा कडा प्रतिस्पर्धा गर्दैछन्, जसले गर्दा खेल संख्या र रोमाञ्चकता विगतको तुलनामा निकै बढी हुनेछ।
तीन फरक-फरक देशका विभिन्न १६ वटा अत्याधुनिक सहरहरूमा आयोजना हुन लागेको यस प्रतियोगिताको उद्घाटन समारोहलाई विश्वकै ध्यान तान्ने गरी तीनवटै देशमा छुट्टाछुट्टै र अभूतपूर्व शैलीमा प्रस्तुत गर्ने तयारी फिफाले गरेको छ।
बिहीबार राति मेक्सिकोको ऐतिहासिक र प्रतिष्ठित एज्टेका रङ्गशालामा पहिलो उद्घाटन समारोह आयोजना हुँदैछ। दुई पटक विश्वकप फाइनलको साक्षी बनिसकेको यो ऐतिहासिक मैदानमा हुने समारोहको मुख्य आकर्षण सन् २०१० को विश्वकप एन्टिएम ‘वाका वाका’ बाट नेपाली समर्थकमाझ समेत निकै लोकप्रिय बनेकी कोलम्बियन पप स्टार साकिरा हुनेछिन्।
साकिरासँगै विश्वचर्चित कलाकारहरू जे बाल्विन, रयान कास्त्रो र मेक्सिकोका स्थानीय रैथाने संगीतकारहरूले मेक्सिको सिटीमा सांगीतिक धुम मच्चाउने छन्। सोही अवसरमा हलिउडकी स्थापित मेक्सिकन-अमेरिकी अभिनेत्री सलमा हायेक पिनाउल्टले आयोजक राष्ट्रको तर्फबाट विश्वभरबाट ओइरिएका फुटबल प्रशंसकहरूलाई स्वागत गर्दै खेलकुदको माध्यमबाट वैश्विक एकता र भ्रातृत्वको सन्देश प्रवाह गर्ने तय भएको छ।
मेक्सिकोको समारोह सकिएलगत्तै शुक्रबार बिहान अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा ९० मिनेट लामो अर्को भव्य उद्घाटन समारोह सञ्चालन हुनेछ। अमेरिकी समारोहमा हलिउड र ग्लोबल पप संगीतका प्रतिष्ठित नामहरू क्याटी पेरी, ब्राजिलियन गायिका अनित्ता, ब्ल्याकपिंककी सुपरस्टार लिसा, नाइजेरियन सनसेसन रेमा र दक्षिण अफ्रिकी गायिका टाइलाले आफ्नो बेजोड प्रस्तुति पस्कने छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार अमेरिकामा आयोजना हुने यो उद्घाटन समारोहले त्यहाँको रैथाने र बहुसांस्कृतिक विविधता, आप्रवासी समुदायको जीवन्तता तथा संगीतको वैश्विक शक्तिलाई विश्वसामु उजागर गर्ने लक्ष्य राखेको छ।
यसैगरी अर्को सह-आयोजक राष्ट्र क्यानडाको टोरन्टोमा आयोजना हुने उद्घाटन समारोहमा दक्षिण एसियाली र बलिउडप्रेमी दर्शकका लागि विशेष आकर्षण रहनेछ। बलिउडकी चर्चित ‘डान्स क्विन’ तथा अभिनेत्री नोरा फतेहीले क्यानडाको स्टेजमा आफ्नो मन्त्रमुग्ध पार्ने नृत्यको जादु छर्नेछिन्।
सन् २०२२ को कतार विश्वकपको आधिकारिक एन्टिएम गीतमा समेत देखिएकी नोराले यसपटक उत्तर अमेरिकी महाद्वीपमा एसियाली र बलिउड ग्ल्यामरको प्रतिनिधित्व गर्नेछिन्। उनीसँगै क्यानडाका रैथाने तथा अन्तर्राष्ट्रिय संगीत स्टारहरू अलानिस मोरिसेट, एलेस्सिया कारा, माइकल बबल र विलियम प्रिन्सले क्यानडाको ओपनिङ समारोहलाई सांगीतिक रूपमा अविस्मरणीय बनाउने तयारी पूरा भएको छ।
यी भव्य सांगीतिक र ग्ल्यामरस रौनकका बीच मैदानमा भने पहिलो उद्घाटन खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच एज्टेका रङ्गशालामा हुनेछ। दुवै देशका लागि यो खेल गर या मरको स्थितिमा हुनेछ।
खेल सुरु हुनुअघि रङ्गशालामा मेक्सिकोका चर्चित गायक अलेक्जान्द्रो फर्नान्डिजले घरेलु टोलीको र गायिका टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान गाएर खेलाडीहरूको हौसला बढाउने छन्।
समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा युरोपेली टोली चेक गणतन्त्र र एसियाली शक्ति दक्षिण कोरिया आमने-सामने हुँदैछन्। दक्षिण कोरियाली टोलीको कप्तानी हाल अमेरिकी मेजर लिग फुटबल (एमएलएस) मा आबद्ध भई अमेरिकाकै मैदानहरूमा अभ्यस्त भइसकेका स्टार स्ट्राइकर सन ह्युङ मिनले गर्ने भएकाले यस खेललाई पनि निकै चासोका साथ हेरिएको छ। छत्तीस दिनसम्म चल्ने यो महाकुम्भको फाइनल खेल आगामी जुलाई महिनामा अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुनेछ।







डिसी नेपाल







Facebook Comment