ओमानको खाडीमा अमेरिकी सैन्य हमला: बेपत्ता तीनै जना भारतीय नाविकको शव फेला
नयाँ दिल्ली । ओमानको खाडीमा एक तेल ट्याङ्करमाथि अमेरिकी सेनाले गरेको आक्रमणपछि बेपत्ता भएका तीनै जना भारतीय नाविकको शव फेला परेको छ।
भारतका बन्दरगाह, नौवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले बिहीबार यसको पुष्टि गरेका हुन्। यस दुःखद घटनापछि भारतले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका उप-मिशन प्रमुखलाई बोलाएर आक्रमणको विरुद्धमा कडा विरोध जनाएको छ।
मन्त्री सोनोवालले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “पलाउको झण्डा रहेको ‘एमटी सेटेबेलो’ जहाजमा भएको दुःखद घटनाका बारेमा थाहा पाउँदा गहिरो दुःख लागेको छ। पहिले बेपत्ता भनिएका तीन भारतीय नाविकको शव फेला परेको छ र उनीहरूको पहिचान पनि पुष्टि भइसकेको छ।”
उनले थप लेखेका छन्, “यो हाम्रा लागि अपूरणीय क्षति हो। यस कठिन घडीमा मोदी सरकार शोक सन्तप्त परिवारको साथमा मजबुतीका साथ उभिएको छ र मृतकका आफन्तलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ। मैले अधिकारीहरूलाई उद्धार गरिएका चालक दलका सदस्यहरूलाई तत्काल स्वदेश फर्काउन र दिवङ्गत नाविकहरूको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि चाँडोभन्दा चाँडो भारत ल्याउन निर्देशन दिएको छु।”
‘फरवार्ड सीमेन युनियन अफ इन्डिया’ का महासचिव मनोज यादवका अनुसार मृतकहरूमध्ये दुई जनाको पहिचान डेक क्याडेट आदित्य शर्मा र इन्जिन फिटर शिवानन्द चौरसियाको रूपमा भएको छ। शिवानन्द उत्तर प्रदेशको देवरियाका बासिन्दा हुन्। यसअघि बेपत्ता भनिएका चिफ इन्जिनियर पटनाला सुरेशको शव पनि फेला परेको छ।
यसअघि पलाउकै झण्डा रहेको अर्को तेल ट्याङ्कर ‘एमटी म्यारिभेक्स’ माथि सोमबार भएको अमेरिकी हमलाको तुलनामा भारतले बुधबार (सेटेबेलो जहाजमा) भएको हमलाको भने खुलेरै निन्दा गरेको छ। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर यतिबेला काजाकिस्तान भ्रमणमा रहेकाले भारतीय विदेश मन्त्रालयले अमेरिकी दूतावासका कार्यवाहक प्रमुख एवं उपप्रमुख जेसन मीक्सलाई बोलाएर कडा विरोध पत्र बुझाएको हो।
अमेरिकी सेन्ट्रल कमाण्डले पलाउको झण्डा बोकेको तेल ट्याङ्कर ‘सेटेबेलो’ ले इरानबाट तेल ओसारपसार गर्दै अन्तर्राष्ट्रिय नाकाबन्दीको उल्लङ्घन गरेको दाबी गरेको छ। अमेरिकी सेनाले यस कारबाहीको एउटा भिडियो समेत सार्वजनिक गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डले ‘एक्स’ मा जारी गरेको बयानमा भनिएको छ, “अमेरिकी बलहरूले पटक-पटक चेतावनी दिँदा पनि जहाजका चालक दलले त्यसलाई बेवास्ता गरे। त्यसपछि अमेरिकी विमानले जहाजको इन्जिन रूमलाई निशाना बनाउँदै ‘प्रिसिजन म्युनिसन्स’ (सटीक प्रहार गर्ने हतियार) द्वारा हमला गरेको हो।”
यस घटनाले खाडी क्षेत्रमा जारी सैन्य सङ्घर्ष र समुद्री व्यापारिक मार्गको सुरक्षालाई लिएर पुनः गम्भीर प्रश्न खडा गरिदिएको छ, विशेष गरी यस हमलामा भारतीय नागरिकहरूले ज्यान गुमाउनुपरेपछि यो विषय थप संवेदनशील बनेको छ।
अमेरिकी सेनाको ‘सटीक हमला’ को चपेटामा परेको ‘सेटेबेलो’ जहाजमा सवार २१ जना भारतीय नाविकहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। यसअघि ओमानको तट नजिकै अमेरिकी बलको निशानामा परेको ‘म्यारिभेक्स’ जहाजबाट पनि २४ जना भारतीय नाविकहरूलाई ओमानको सेनाले सुरक्षित रूपमा निकालेको थाहा भएको छ।
समुद्री गुप्तचरी वेबसाइट ‘ल्योड्स लिस्ट’ का अनुसार सेटेबेलो हालैका दिनहरूमा ओमानको दुक्म बन्दरगाह नजिकै रोकिएका ती कयौँ जहाजहरूमध्ये एक थियो, जुन कथित रूपमा अमेरिकी नौसेनाको कडा निगरानीमा थिए।
‘युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसन’ ले एक अलर्ट जारी गर्दै ओमानको सोहरभन्दा करिब २० समुद्री माइल उत्तर-पूर्वमा एउटा ट्याङ्करको इन्जिन कोठामा आगलागी भएको र स्थानीय अधिकारीहरूले चालक दलका सदस्यहरूलाई बाहिर निकाल्न सहयोग गरिरहेको जनाएको थियो।
भारतीय विदेश मन्त्रालयले यस क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि निरन्तर भइरहेका हमलाहरू गम्भीर चिन्ताको विषय भएको बताएको छ। भारतले जोड दिँदै भनेको छ— “यस क्षेत्रमा व्यावसायिक जहाज र नागरिक पूर्वाधार (सिभिल इन्फ्रास्ट्रक्चर) लाई निशाना बनाउने काम बन्द हुनुपर्छ। अन्तर्राष्ट्रिय कानुन अनुरूप समुद्री मार्गहरूमा स्वतन्त्र र निर्बाध आवतजावत चाँडोभन्दा चाँडो बहाल गरिनुपर्छ।”







डिसी नेपाल







Facebook Comment