एक अनवरत कवि नवीन चित्रकार
दृश्य र विविध रङहरूलाई क्यामराको लेन्सबाट जीवित पार्नु एउटा यस्तो कला हो, जसले मानिसलाई सर्जक मात्र बनाउँदैन, संवेदनाको एउटा सग्लो महासागर बनाइदिन्छ। मेरो मानसपटलमा कवि नवीन चित्रकारको छवि सधैँ यसरी नै सङ्ग्रहित छ।
उहाँ शब्दका कारिगर मात्र हुनुहुन्न, दृश्यका पारखी र संस्कृतिका अनवरत यात्री पनि हुनुहुन्छ। नेपाल भाषाको साहित्यिक आकाशमा एउटा उज्यालो नक्षत्रका रूपमा उदाउनुभएका उहाँ एकताका नेपाल भाषाको अग्रणी संस्था ‘लिजः कविता दवु’ को अध्यक्ष हुनुहुन्थ्यो। त्यस्तै उहाँ नेपाल भाषा परिषदको उपाध्यक्ष, फोस्वालको महासचिव र मुनासको संस्थापक पनि हुनुहुन्छ।
वास्तवमा त्यो समय, नवीन चित्रकारको समर्पित सक्रियताको एक प्रकारले ‘स्वर्णकाल’ जस्तै नै थियो। नेपाल भाषाको साहित्यिक समृद्धिलाई आफ्नै भाषाको घेराभित्र मात्र सीमित नराखेर, अन्य भाषाभाषीका समुदायसम्म फैलाउन उहाँले खेल्नुभएको त्यो सेतुको भूमिका मेरो सम्झनाको तस्बिरमा आज पनि उत्तिकै ताजा र जीवन्त छ।
म सम्झन्छु, विश्व कविता दिवसको अवसरमा उहाँले हनुमानढोका दरबार क्षेत्रको नासल चोकमा भव्य कविता उत्सवको आयोजना गर्नुभएको थियो। जहाँ विभिन्न भाषाका कविहरूले आ-आफ्नो भाषामा कविता वाचन गर्नुभएको थियो। त्यहाँ नेपाली कविहरूका अतिरिक्त विभिन्न देशका अतिथि कविहरूको समेत सहभागिता थियो।
यस किसिमका कार्यक्रमहरू उहाँले धेरै गर्नुभयो। प्रजातान्त्रिक आन्दोलनदेखि भाषा आन्दोलन र साहित्यिक जागरणमा उहाँले अथक कर्महरू निकै सक्रियतापूर्वक गरिरहनुभयो। कतिपय कार्यक्रमहरूको निम्तो स्वीकारेर म पनि सहभागी भई उहाँको जोस र जाँगरलाई नजकैबाट नियाल्ने अवसर पाएको छु।
नवीन चित्रकार मूलतः कविका रूपमा परिचित हुनुहुन्छ। तथापि सामाजिक, साहित्यिक तथा राजनीतिक क्षेत्रमा पनि उहाँको संलग्नता महत्त्वपूर्ण छ। उहाँले नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषामा समेत उत्तिकै सशक्त कविताहरू लेख्नुभएको छ। ती कविताले उहाँको सिर्जनात्मक क्षमताको परिचय दिन्छन्।
समयका पानाहरू पल्टाउँदा विगतका कतिपय प्रिय क्षणहरू आँखाको अगाडि सिनेमाको रिलझैँ घुम्न थाल्छन्। ‘मेट्रो एफएम’ रेडियोको स्टुडियोमा उहाँसँग बिताएका ती सिर्जनशील प्रहरहरू म कसरी भुल्न सक्छु र ? मेट्रो एफएमको प्रत्यक्ष प्रसारणका क्रममा हामीले कति धेरै विषयमा संवाद गर्यौँ, कति धेरै वैचारिक बहसहरू कोर्यौँ !
कहिले उहाँका आफ्नै सुकोमल कविताका भावभूमिमाथि बहस हुन्थ्यो, कहिले विश्व-कविताको विशाल क्यानभास र दर्शनमाथि मन्थन चल्थ्यो। कहिले नेपाल भाषाको विगत र वर्तमान लेखन तथा प्रकाशनका विविध सन्दर्भमाथि चर्चा गरिन्थ्यो। कहिले समाज, राजनीति र समसामयिक सन्दर्भका उकुसमुकुसहरूलाई हामी रेडियोको तरङ्गमार्फत श्रोतामाझ पोख्ने गर्थ्यौँ।
उहाँको प्रखर चेत र स्पष्ट वक्ताको त्यो रूप रेडियोको ‘लाइभ’ प्रसारणमा मात्र होइन, नेपाली साहित्यको आँगनमा पनि उत्तिकै प्रतिध्वनित हुने गर्थ्यो। उहाँ आफ्नो समयका एक अत्यन्तै ऊर्जावान् र गतिशील सर्जक हुनुहुन्थ्यो। ‘हुनुहुन्थ्यो’ भन्नुपर्छ- किनभने केही वर्षदेखि उहाँ घरबाहिरको जमघटमा सामेल हुन सक्ने अवस्थामा हुनुहुन्न। घरमै औषधि र आरामको भरमा उहाँको दैनिकी अत्यन्त असहज किसिमले व्यतीत हुँदै आएको छ।
समय सधैँ एउटै लयमा कता बग्छ र ? नियतिको एउटा निष्ठुरी प्रहारले विगत ६ वर्षदेखि उहाँको त्यो हिँड्डुल र दौडधुपको संसारलाई ओछ्यानको साँघुरो परिधिभित्र खुम्च्याइदिएको छ। जुन मानिस हिजो सिङ्गो साहित्यिक आन्दोलन र चेतनाको संवाहक बनेर कुद्थ्यो, झरी, हुरी, घामको गर्मी केही नभनी साहित्यकै पछि दौडिरहने ती कवि आज चौघेरामा गुम्सिरहनुपर्ने बाध्यता छ।
आज उहाँ शारीरिक अशक्तताका कारण घरको कोठामा सीमित हुनुहुन्छ। न त उहाँ कुनै साहित्यिक जमघट र गोष्ठीहरूमा भौतिक रूपमा उपस्थित हुन सक्नुहुन्छ, न त कुनै कार्यक्रमको कुशल आयोजक बनेर मञ्चलाई भव्य रूपमा सञ्चालन नै गर्न सक्नुहुन्छ। सडकको चहलपहल, साहित्यका बहसहरू सबै आज उहाँबाट टाढा भएका छन्, बिरानिँदै गएका छन्।
बाहिर प्रकृतिका रङहरू फेरिइरहँदा, ऋतुहरू आवत-जावत गरिरहँदा, एउटै कोठाको झ्यालबाट नियाल्ने त्यो मन कति दुखिरहेको होला ? शब्द र दृश्यका ती अनन्त छालहरू मनमा आउँदा उहाँको दिनचर्या कसरी बितिरहेको होला ? एउटा गतिशील सर्जकले यसरी ओछ्यानमा बाँधिनु पर्दाको मौन पीडा कस्तो हुँदो हो ?
यिनै र यस्तै मेरो मनभित्रका भावुक जिज्ञासा, केही पुराना स्मृति र अलिकति छटपटी बोकेर म जेठ २९ गते शुक्रबारको साँझ उहाँलाई भेट्न बागबजारस्थित उहाँको निवासमा पुगेँ। मनमा एउटा चिसो डर थियो- कतै मेरो प्रिय र श्रद्धेय कवि नवीन चित्रकार समयको यो क्रूर थपडीले गलिसक्नुभएको त छैन ? घोर निराशाको सङ्घारमा थाकेर चुपचाप मौनताको अन्धकारमा त हुनुहुन्न ?
यद्यपि, जब म उहाँकी श्रीमती बिना चित्रकारको पछि-पछि उहाँको कोठाभित्र छिरेँ, मेरो संशयको बादल हत्तपत्त उड्यो। शारीरिक रूपले उहाँ शिथिल र थला पर्नुभएको पक्कै हो, तर उहाँको मन र मस्तिष्कको आत्मबल भने हिमालझैँ अटल र बलियो पाएँ। मानिस शरीरले मात्र बाँच्दैन, ऊ त आफ्नो इच्छाशक्ति र चेतनाले बाँच्दोरहेछ भन्ने कुराको साक्षात्कार मैले उहाँको सामुन्ने उभिएर गरेँ।
शायद, यही उच्च आत्मबलको एउटा दियो भित्री मनमा बलिरहेको हुनाले नै उहाँ अझै पनि जीवनसँग मुस्कुराइरहनुभएको छ, हाँसिरहनुभएको छ र प्रतिकूलताका विरुद्ध चुपचाप नबसी बोलिरहनुभएको छ। उहाँको शरीर ओछ्यानमा होला, तर उहाँको सिर्जनशील आत्मा अझै पनि स्वतन्त्र चराझैँ अनन्त गगनमा डुलिरहेको छ।
उहाँ अझै पनि केही न केही लेखिरहनुहुन्छ, अक्षरहरूसँग पौँठेजोरी खेलिरहनुहुन्छ र नयाँ पुस्तकहरू पढिरहनुहुन्छ। उहाँको भित्री मनमा अझै धेरै काम गर्ने, साहित्य र कलाको आकाशमा अझै धेरै रङहरू भर्ने तीव्र इच्छा छ। तर, त्यो इच्छालाई साकार पार्न यो भौतिक शरीरको सीमितताले समयलाई निकै कठिन र चुनौतीपूर्ण बनाइदिएको छ।
यसैबिच, दुई वर्षअघि साहित्यकार किशोर पहाडीले लेख्नुभएका (जुन कुरा मैले उहाँको लेखाइबाट थाहा पाएँ) यी सन्दर्भहरू साभार गर्दै सम्झन्छु– “नवीन चित्रकार कविता लेख्नुहुन्छ। एक समय नाटक, टेलिफिल्म लेख्ने र निर्देशन गर्ने काम पनि गर्नुभयो। उहाँका टेलिफिल्महरू ‘कसरी हुन सक्छ’, ‘तिमीहरू नै भन’, ‘घर’, ‘हेराइमा’ त्यो बेलाका चर्चित टेलिफिल्महरू हुन्। ‘घर’ ले त सर्वश्रेष्ठ पटकथा लेखनमा पुरस्कार पनि पाएको थियो रे।”
अमेरिकामा छोराछोरी भेट्न जाँदा सन् २०१८ सेप्टेम्बर २७ तारिखका दिन नवीन चित्रकारलाई मस्तिष्काघात भएको रहेछ। आफूले गाइगुइँ सुनेको कुरालाई साक्षात् उहाँकै मुखबाट “त्यो बेलाको कथा यसरी सुनियो” भनी किशोर पहाडीले अगाडि लेख्नुभएको छ- “सेप्टेम्बर २७ तारिखका दिन अमेरिकामा कविगोष्ठी थियो। कविगोष्ठी सकेर घर आई खाना खान लाग्दा बेहोस भई कुर्सीबाट लडेछु। छोरी र श्रीमतीले एम्बुलेन्स बोलाएर हस्पिटल लगे। हस्पिटलमा चार महिनाभन्दा बढी राखेर उपचार गरेपछि म बाँचेछु।”
“नवीनको कविता सङ्ग्रह नेपाल भाषामा छ- ‘स्वक मी जी दुन्हे या’। नेपाली भाषामा कविता सङ्ग्रह निकाल्ने तयारीमा हुँदाहुँदै त्यस्तो घटना भयो। उहाँको जीवनको मोड नै बदलियो। २०२३ सालतिर शान्ति निकुञ्ज विद्यालयमा पढ्दादेखि नै कविता लेखेको सम्झनुहुन्छ नवीन।” किशोर पहाडीले लेख्नुभएको छ।
उमेर सत्तरीको उकाली लागिसक्नुभएका कवि नवीन चित्रकारको यो रूप देख्दा मलाई लाग्छ- सिर्जना जसको नसामा बग्छ, उसलाई संसारको कुनै पनि साङ्ग्लोले बाँध्न सक्दैन। बागबजारको त्यो शान्त कोठामा एउटा ओछ्यानमा पल्टिएर पनि नवीन चित्रकार आज जीवनको सबैभन्दा ठूलो र सुन्दर कविता रचिरहनुभएको छ- आशा, धैर्य र अदम्य साहसको कविता। उहाँको यो मौन साधना र बलियो आत्मबललाई मेरो हार्दिक नमन !
सोही घटनापछि उहाँले लेख्नुभएको कवितांश:
आफन्त, साथी–सङ्गीहरूको
शब्दहरूको ध्वनि
तरङ्गित बनाई बाँच्नुसिवाय
दुःख त शरीरले पो झेलेछ
मन त मेरो हँसिलो नै छ।
-नवीन चित्रकार















Facebook Comment