अखिल क्रान्तिकारीको तेस्रो बैठक : विद्यार्थी संगठनहरूको एकता प्रक्रियालाई अन्तिम टुंगाेमा पुर्‍याइने

डिसी नेपाल
३१ जेठ २०८३ ७:३१

काठमाडौं। अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक महत्त्वपूर्ण नीतिगत निर्णयहरू गर्दै सम्पन्न भएको छ।

बैठकले संगठन सुदृढीकरण, विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउने तथा पार्टीभित्र जारी विभिन्न विद्यार्थी संगठनहरूबिचको एकता प्रक्रियालाई चाँडै अन्तिम निष्कर्षमा पुर्‍याउने लगायतका रणनीतिक निर्णयहरू गरेको छ।

बैठकले पार्टीभित्र क्रियाशील रहेका विद्यार्थी संगठनबीचको एकता कार्यलाई अब थप नलम्ब्याउने निष्कर्ष निकालेको छ।

यसका लागि आवश्यक वार्ता, आपसी समन्वय र प्राविधिक तयारीलाई तीव्र गतिमा अगाडि बढाउने निर्णय भएको छ। एकता प्रक्रियालाई व्यवस्थित रूपमा टुङ्गोमा पुर्‍याउनका लागि बैठकले वार्ता, समन्वय तथा प्रतिवेदन तयारीका लागि छुट्टाछुट्टै विशेष समितिहरूसमेत गठन गरेको छ।

यसका साथै बैठकले संगठनको समग्र पुनर्गठन गर्ने, प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म संगठनको संरचना विस्तार गर्ने, नियमित रूपमा प्रशिक्षण तथा वैचारिक अभियानहरू सञ्चालन गर्ने र डिजिटल प्रणाली अपनाएर व्यवस्थापनलाई चुस्त बनाउने निर्णय गरेको छ।

शैक्षिक तथा आम जनजीविकासँग जोडिएका समसामयिक मुद्दाहरूमा आगामी दिनमा सशक्त ढंगले हस्तक्षेप गर्ने योजना पनि बैठकले तय गरेको छ। बैठकमा सहभागी नेतृत्वले पारित भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत संगठनलाई थप गतिशील, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

संगठनका उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठले यस बैठकबाट सङ्गठनको भावी कार्यदिशा पूर्ण रूपमा स्पष्ट भएको जानकारी दिएका छन्। उनले पार्टीभित्र रहेका विद्यार्थी संगठनबीचको एकता प्रक्रियालाई अब छिट्टै अन्तिम टुङ्गोमा पुर्‍याएर समग्र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याइने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *