आगामी असार १ गतेदेखि प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल हुने

डिसी नेपाल
३१ जेठ २०८३ १४:४४

काठमाडाैं। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि आगामी असार १ र २ गते बृहत् छलफल हुने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार दुई दिनसम्म चल्ने उक्त मन्त्रालयगत छलफलका क्रममा सांसदहरूबाट उठेका विभिन्न प्रश्न र जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले आगामी असार ३ र ४ गते जवाफ दिने कार्यक्रम तय गरिएको छ।

सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गरेको थियो भने प्रतिनिधिसभामा यसअघि नै बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिइसकेका छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार १ गते पहिलो दिन विभिन्न महत्वपूर्ण मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

उक्त दिन युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शीर्षकहरूमा छलफल केन्द्रित हुनेछ।

यसका साथै शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि पनि सोही दिन छलफल गरिनेछ।

यी मन्त्रालयहरूको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ गतेको बैठकमा दिने कार्यक्रम रहेको छ।

यसैगरी, छलफलको दोस्रो दिन अर्थात् असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका विनियोजन शीर्षकहरूमाथि संसद्मा बहस हुनेछ।

सोही दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने सचिवालयले जनाएको छ।

दोस्रो दिनका छलफलहरूमा सांसदहरूले उठाएका प्रश्न तथा चासोहरूको जवाफ सम्बन्धित मन्त्री तथा विभागीय प्रमुखहरूले असार ४ गतेको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने गरी संसद्को कार्यसूची तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *