चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम

डिसी नेपाल
३१ जेठ २०८३ १९:३१

स्याङ्जा। आज सम्पन्न चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिक प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ।

सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा पुरुष तथा महिलाबीच भएको उक्त प्रतियोगितामा स्याङ्जा दोस्रो तथा बागलुङ तेस्रो भयो। गण्डकी प्रदेशअन्तर्गतका स्याङ्जासहित, कास्की, बागलुङ, नवलपुर र पर्वतका महिला पुरुष गरी ३८ प्रतिस्पर्धी सहभागी भएका थिए।

‘फ्लोर इभेन्टस’ र ‘भल्टिङ इभेन्टस’ गरी दुई विधामा खेलाइएको उक्त प्रतियोगितामा ‘फ्लोर इभेन्टस’ स्याङ्जाका सोनिस थापा प्रथम, स्याङ्जाका श्रवण परियार द्वितीय र कास्कीका साइमन थापा तृतीय भएका हुन्।

त्यस्तै, ‘भल्टिङ इभेन्टस’ को पुरुषतर्फ कास्कीका मियोन गुरुङ प्रथम, कास्कीका सार्जन श्रेष्ठ द्वितीय र स्याङ्जाका सोनिस थापा तृतीय भएका वालिङ नगरपालिका जिम्नास्टिक सङ्घका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताए।

महिलातर्फ ‘फ्लोर इभेन्टस’ मा कास्कीकी लीला थापा प्रथम, स्याङ्जाकी जेनिशा गुरुङ द्वितीय र कास्कीकी मोनालिसा कार्की तृतीय भएकी हुन्। ‘भल्टिङ इभेन्टस’ मा महिलातर्फ कास्कीकी मोनालिसा कार्की प्रथम, स्याङ्जाकी नेशा गुरुङ द्वितीय, कास्कीकी लीला थापा, स्याङ्जाकी साधवी श्रेष्ठ र कास्कीकी क्रिस्टिना मश्राङ्गी तृतीय भएको उनले जानकारी दिए।

महिला तथा पुरुष प्रतिस्पर्धीलाई दुई विधामा गराइएको समग्र प्रतियोगिता अवधिभर सबैभन्दा धेरै पदक कास्कीले जितेकाले कास्की प्रथम भएको हो। प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई आगामी दशौँ राष्ट्रिय खेलकुदको छनोटको तयारीका लागि सहभागी गराइने भएको हो। गण्डकी प्रदेश जिम्नास्टिक सङ्घको व्यवस्थापन, वालिङ नगरपालिका जिम्नास्टिक सङ्घको संयोजनमा दुई दिन प्रतियोगिता सञ्चालन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *