यु–१९ राष्ट्रिय महिला क्रिकेटः मधेश र सुदूरपश्चिम फाइनलमा
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा जारी प्रथम यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा मधेश र सुदूरपश्चिम प्रदेश प्रवेश गरेका छन्। उपाधिका लागि दुई प्रदेशबीच भिडन्त हुने पक्का भएको छ।
समूह चरणको अन्तिम खेलमा मधेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनःफाइनलमा मधेशलाई नै प्रतिष्पर्धीका रुपमा पाएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायम राखेको गण्डकीका लागि मधेशमाथि सुदूरपश्चिमले जित निकालेसँगै फाइनलमा जाने आश टरेको थियो।
अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेश प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा पछि परेपछि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको हो। कालुङचोक मैदानमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमकी ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसालिन्।
चौबिस रनको व्यक्तिगत स्कोरमा धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहीबेरमैै करुणा रन आउट हुँदा मधेशतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आफ्नो पोल्टामा पारे। ३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन। त्यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा ग¥यो। मधेसका लागि आरती महतो र शिवानी साहले समान १०–१० रन जोडे।
आज नै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जीत निकाल्यो। घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन जोड्यो। कप्तान तिर्सना विश्वकर्मा १ रनले अर्धशतक बनाउनबाट चुकेकी थिइन्। ओपनर सोविका शाही शून्यमै आउट भएपनि तिर्सनाले ६२ रनको सामना गर्दै एक छक्का र छ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन्।
दोस्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन्। बलिङतर्फ गण्डकीका निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक–एक विकेट रह्यो। ९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनीका मरासिनीले १३ रनमा आउट भएपछि तेस्रो र चौथो क्रममा ब्याटरले अविजित रहँदै गण्डकीको इनिङ्स सम्हाले। चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए।
समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो। सोह्र रन अतिरिक्त पाएको लुम्बिनीका कुनैपनि ब्याटरले दोहोरो अङ्क छुन सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए। अठचालिस रनको झिने लक्ष्य पछ्याएको कोशीका टीका शाहले ८, पूर्णिमा राजवंशी र प्रिन्सा राना मगरले समान १०–१० रन बनाउँदा खुशीकुमारी राजवंशीले नटआउट ११ रन जोडिन्। कोशीको जीतमा ११ रन अतिरिक्त रह्यो। नेपाल क्रिकेट सङ्घ (क्यान) र कर्णाली प्रदेश क्रिकेट सङ्घको आयोजनामा यही जेठ २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता सोमबार सम्पन्न हुने छ।







डिसी नेपाल







Facebook Comment