मेस्सी र यामालबीच दुई दशकपछि दोहोरियो दुर्लभ फुटबल संयोग
उही उमेर र उही जर्सी नम्बरमा विश्वकपको पहिलो गोल
काठमाडाैं। स्पेनका उदीयमान युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ मा साउदी अरेबियाविरुद्ध गोल गर्दै आफ्नो विश्वकप गोलको खाता मात्र खोलेनन्, फुटबल इतिहासमा एउटा विरलै देखिने रोचक संयोग पनि दर्ता गराएका छन्।
यामालले साउदी अरेबियाविरुद्धको खेलमा गरेको यो गोलसँगै आफ्ना आदर्श खेलाडी लियोनल मेस्सीको दुई दशक पुरानो इतिहासलाई लगभग दुरुस्तै दोहोर्याएका हुन्। विश्व फुटबल समर्थकहरूमाझ अहिले दुई फरक पुस्ताका यी खेलाडीहरूबीचको अनौठो समानता निकै चर्चाको विषय बनेको छ।
यस ऐतिहासिक संयोगको सबैभन्दा विशेष पक्ष यी दुवै खेलाडीको पहिलो विश्वकप गोल गर्दाको उमेर र जर्सी नम्बर हो। यामालले साउदी अरेबियाविरुद्ध मैदान उत्रिँदा १८ वर्ष ११ महिना पुगेका थिए, र ठीक यही उमेरमा मेस्सीले पनि सन् २००६ को विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गराएका थिए।
यसका साथै दुवै खेलाडीले आ-आफ्नो पहिलो विश्वकप गोल गर्दा १९ नम्बरको जर्सी लगाएका थिए र दुवैले गोलका लागि दायाँ खुट्टाकै प्रयोग गरेका थिए। बार्सिलोनाको एकेडेमीबाटै उदाएका र बाल्यकालदेखि नै मेस्सीलाई आफ्नो प्रेरणाको स्रोत मान्दै आएका यामालका लागि यो उपलब्धि भावनात्मक रूपमा पनि निकै महत्त्वपूर्ण बनेको छ।
यो दुर्लभ समानताका बीच यामालले एउटा कीर्तिमानमा भने आफ्ना आदर्श मेस्सीलाई पनि पछि पारेका छन्। विश्वकपमा पहिलो गोल गर्दा उनी मेस्सीभन्दा १४ दिन कम उमेरका थिए, जसका कारण विश्वकप इतिहासमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीहरूको सूचीमा उनी मेस्सीभन्दा माथिल्लो स्थानमा पुग्न सफल भएका छन्।
साउदी अरेबियाविरुद्ध स्पेनले दर्ता गरेको ४-० को सानदार जितमा गोल गरेका यामाल विश्वकप इतिहासकै आठौँ सबैभन्दा कम उमेरका गोलकर्ता बनेका हुन्।
लामो समयको चोटपटकपछि मैदानमा पुनरागमन गरिरहेका यी १८ वर्षीय विङ्गरले प्रतियोगिताको पहिलो सुरुआती अवसरमै गोल गरेर आफूलाई विश्व फुटबलको भविष्य किन भनिएको हो भन्ने कुरा प्रमाणित गरिदिएका छन्।
फुटबलको दुनियाँमा अनेकौँ संयोगहरू हुने गरे पनि मेस्सी र यामालबीचको यो समानतालाई विज्ञहरूले असाधारण मानेका छन्।
विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक मेस्सी र उनकै पदचाप पछ्याउँदै अघि बढेका युवा प्रतिभा यामालको विश्वकप यात्राको सुरुआत एउटै उमेर, एउटै जर्सी नम्बर र एउटै शैलीबाट हुनु आफैँमा फुटबल इतिहासको एउटा सुन्दर र अविस्मरणीय कथा बनेको छ।







डिसी नेपाल







Facebook Comment