नेपालगन्जमा तीन दिन विद्यालय बन्द

डिसी नेपाल
९ असार २०८३ १८:२७

नेपालगन्ज (बाँके) । अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरी तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो।

गर्मीले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार १०, ११ र १२ गते विद्यालय बन्द गरिने भएको छ।

उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीले जल तथा मौसम विज्ञान विभागलगायतको सुझावका आधारमा तीन दिन विद्यालय तहका सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी दिए। उनले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्नेलगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्न बाध्य भएको बताए।

नेपालगन्ज उपमहानगरपालिकामा संस्थागत ८२, सामुदायिक ४२ र धार्मिक विद्यालय ३९ गरी कुल १६३ विद्यालय रहेका छन्। जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस रहेको छ।

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ४० र खजुरामा ३९.६ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *