‘सामाजिक लोकतन्त्र’को नयाँ मार्गमा रास्वपा : ‘वैकल्पिक’बाट ‘निर्विकल्प’ शक्ति बन्ने रविको उद्घोष

डिसी नेपाल
९ असार २०८३ २०:१७

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलको वैचारिक धरातल परिवर्तन गर्दै ‘सामाजिक लोकतन्त्र’लाई पार्टीको मूल सिद्धान्तका रूपमा अघि सारेका छन्। चितवनमा जारी पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै लामिछानेले रास्वपा अब ‘संवैधानिक समाजवाद’को घेराबाट बाहिर निस्किएर सामाजिक लोकतन्त्रको मार्गमा अघि बढ्ने औपचारिक घोषणा गरेका हुन्।

सभापति लामिछानेले प्रतिवेदनमार्फत व्यक्तिगत स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीचको सन्तुलन नै पार्टीको मूल दर्शन हुने स्पष्ट पारेका छन्। उनले सामाजिक लोकतन्त्रलाई मूर्त रूप दिन प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधिमा आधारित संस्थागत पद्धति, जनउत्तरदायी सरकार, शिक्षा-स्वास्थ्यमा सक्रिय भूमिका रहने लोककल्याणकारी राज्य र समन्यायिक समावेशी समाजको पाँचसूत्रीय आधारस्तम्भ अघि सारेका छन्।

राजनीतिक सुधारको एजेन्डामा लामिछानेले निकै साहसिक र दूरगामी प्रस्तावहरू राखेका छन्। उनले मुलुकको शासकीय स्वरूपमा आमूल परिवर्तन गर्दै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ र ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली’ को वकालत गरेका छन्। त्यस्तै, राष्ट्रिय सभालाई गैर-दलीय विशेषज्ञहरूको थलो बनाउनुपर्ने र विद्यमान प्रदेश संरचनाको पुनर्संरचना गर्नुपर्ने मागलाई उनले जोडदार रूपमा उठाएका छन्।

सरकारमा रहँदाका अनुभवहरू बाँड्दै लामिछानेले आफ्नो पार्टीले सुशासन र भ्रष्टाचार विरुद्ध गरेको ‘सकारात्मक हस्तक्षेप’ले पुराना राजनीतिक शक्तिहरूमा त्रास सिर्जना गरेको जिकिर गरे। उनले भुटानी शरणार्थी प्रकरण जस्ता ठूला काण्डहरूको छानबिनकै कारण पुराना दलहरू अहिले एक ठाउँमा उभिन बाध्य भएको विश्लेषण गरेका छन्।

परराष्ट्र नीतिका सन्दर्भमा रास्वपाले छिमेकी राष्ट्रहरूसँग सन्तुलित र व्यावहारिक सम्बन्ध राख्दै नेपालको ‘सफ्ट पावर’का रूपमा रहेको डायस्पोरालाई मुलुकको विकासमा जोड्ने ‘विकास कूटनीति’लाई प्राथमिकता दिएको छ। प्रतिवेदनको निष्कर्षमा लामिछानेले रास्वपा अब केबल एक ‘वैकल्पिक राजनीति’को सीमित घेरामा नरही देशको ‘निर्विकल्प राजनीतिक शक्ति’का रूपमा स्थापित हुने दृढ संकल्प व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *