पोखरा बसपार्कका ५२० संरचना हटाइयो
कास्की। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका ५२० वटा संरचना हटाएको छ। यही जेठ ४ गतेदेखि बसपार्कभित्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म बास्तोला कम्प्लेक्सका ३२० र अन्य २०० सटर कवलहरू खाली गरेको हो। हाल त्यस स्थानलाई सम्याउने काम भइरहेको र थप कार्यलाई निरन्तरता दिइएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए।
देशको प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेकाले पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३० मा २०५ रोपनी जमिन अधिग्रहण गरिए पनि हालसम्म बसपार्क बनेको छैन भने अधिग्रहण गरिएको जग्गासमेत अहिले २६ रोपनी मात्र बाँकी छ। पछिल्लो समय महानगरले बसपार्कको जग्गाभित्रका संरचना हटाउने र सुकुमवासीले अतिक्रमण गरेको जग्गा खाली गर्न प्रक्रिया सुरु गरेको हो।
महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ। बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर परिवारले जग्ग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन्। महानगरले सुकुमवासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमति घर टहरनामा डोजर चलाउने जनाएको छ।
महानगरपालिकाले हाल डोजर लगाएर खाली गरेको बाँस्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा छ। विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टा भर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो।
महागरले पछिल्लो समय जग्गा सट्टा भर्नाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ। सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन। यसैगरी बसपार्कका भूमिहीन सुकुमवासीको वैकल्पिक व्यवस्थाका लागिसमेत महानगरका विभिन्न छ स्थानमा जग्गा खोजी गरेर यसको प्राविधिक अध्ययनको काम भइरहेको महानगरले जनाएको छ।






डिसी नेपाल





Facebook Comment