प्रमाणपत्रविना चिकित्सक बनेर बिरामी जाँच्ने महिला पक्राउ

डिसी नेपाल
१० असार २०८३ १९:५८

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रविना नै चिकित्सकको रूपमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको चन्द्रागिरीबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन एएम (पौडेल) छिन्। सीआईबीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो।

काउन्सिलले गरेको नियमित अनुगमनका क्रममा पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गरेको र दर्ताविना नै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार निदान तथा उपचार गरिरहेको फेला पारेको थियो। अनुगमन टोलीले उनले बिरामीलाई औषधि सिफारिस गरेका प्रेस्क्रिप्सनहरू समेत बरामद गरेको जनाएको छ।

काउन्सिलले छानबिन प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि सीआईबीमा उजुरी दिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीको टोलीले असार ९ गते उनलाई स्वास्थ्य संस्थाबाटै पक्राउ गरेको हो।

पक्राउ परेकी पौडेलमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाजसम्बन्धी कसूर’ मा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलले दर्ता प्रमाणपत्रविना चिकित्सा अभ्यास गर्नु प्रचलित कानुनविपरीत हुने भन्दै यस्ता अवैध गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *