रास्वपा महाधिवेशन: २३ वर्षीया आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित, देशकै कान्छी केन्द्रीय सदस्य भएको दाबी

डिसी नेपाल
१२ असार २०८३ १७:१४

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट चितवनकी २३ वर्षीया आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

भरतपुर निवासी पोखरेलले बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा सानदार जित हासिल गरेकी हुन्।

रास्वपाको स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय पोखरेलले यसअघि पार्टीको भरतपुर महानगर समिति सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेकी छन्। जिल्लामा दुई वर्ष पत्रकारिताको अनुभव समेत सँगालेकी उनी हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन्।

केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै युवा नेत्री पोखरेलले नेपालका प्रमुख राजनीतिक दलहरूमध्ये सम्भवतः आफू सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएको दाबी गरिन्।

‘जेनजी’अर्थात् नयाँ पुस्ताको भावना र अपेक्षाअनुसार पार्टीलाई गतिशील ढंगले अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

मुलुकको एक प्रमुख राजनीतिक शक्तिको केन्द्रीय समितिमा पुगेसँगै आफ्नो काँधमा जिम्मेवारी झन् बढेको महसुस भएको बताउँदै उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी नेतृत्व, कार्यकर्ता तथा शुभचिन्तकहरूमा हार्दिक आभार एवं धन्यवाद प्रकट गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *