डीआर कङ्गोको उत्कृष्ट कमब्याक: उज्बेकिस्तान स्तब्ध
काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको रोमाञ्चक खेलमा डीआर कङ्गोले उज्बेकिस्तानमाथि २-१ गोल अन्तरको शानदार जित दर्ता गरेको छ। खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए।
खेलमा पहिलो अग्रता भने उज्बेकिस्तानले लिएको थियो। उज्बेकिस्तानका स्टार खेलाडी एल्डोर शोमुरोडोभले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको डीआर कङ्गोले दोस्रो हाफमा खेलको रणनीति परिवर्तन गर्दै लगातार दबाब सिर्जना गर्यो।
कङ्गोको यो आक्रामक रणनीति खेलको ६८औँ मिनेटमा सफल भयो, जब टोलीले पेनाल्टीको अवसर पायो। उक्त पेनाल्टीलाई योवान विसाले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। बराबरी गोलले हौसिएको कङ्गोले आक्रमणलाई झनै तीव्र बनायो। त्यसको १० मिनेटपछि, अर्थात् खेलको ७८औँ मिनेटमा फिस्टोन मायेलीले उत्कृष्ट गोल गर्दै कङ्गोलाई २-१ को निर्णायक अग्रता दिलाए। यस जितसँगै महत्वपूर्ण ३ अंक जोड्दै डीआर कङ्गो विश्वकपको ‘राउन्ड अफ ३२’ (अन्तिम ३२) मा स्थान बनाउने बलियो दिशातर्फ अघि बढेको छ।
कोलम्बिया र पोर्चुगलबीचको कडा टक्कर: गोलरहित बराबरी
आजै भएको अर्को बहुप्रतीक्षित खेलमा दक्षिण अमेरिकी पावरहाउस कोलम्बिया र युरोपेली जाइन्ट पोर्चुगलबीचको खेल बराबरीमा सकिएको छ। स्टार खेलाडीहरूले भरिएका दुवै टोलीले खेल अवधिभर गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि कुनै पनि टोलीले बललाई जाली चुमाउन सकेनन्।
पोर्चुगलले मध्यपंक्ति मा नियन्त्रण राख्दै केही उत्कृष्ट प्रहारहरू गरे पनि कोलम्बियाको मजबुत रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट बचाउका कारण उनीहरू असफल रहे। अर्कोतर्फ, काउन्टर अट्याकमा घातक देखिएको कोलम्बियाले पनि पोर्चुगलको पोस्टमा लगातार आक्रमण बुन्यो, तर फिनिसिङमा चुकेपछि खेल ०-० को गोलरहित बराबरीमै टुङ्गियो र दुवै टोली १-१ अंक बाँड्न बाध्य भए।
विश्वकपको समूह चरणको समीकरणलाई रोचक बनाउन र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पार्न अब आगामी खेलहरूमा यी टोलीहरूलाई जित निकाल्नैपर्ने दबाब बढेको छ।






डिसी नेपाल





Facebook Comment