अमेरिका र इरानबीचको सैन्य टकराव थप हिंस्रक: खाडी क्षेत्रमा युद्धको खतरा बढ्दो
वासिंटन। गन्तव्यतर्फ गइरहेका व्यावसायिक जहाजहरूमाथि शृङ्खलाबद्ध हमला हुन थालेपछि अमेरिका र इरानबीचको सैन्य तनाव चरम उत्कर्षमा पुगेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबार राति इरानी भूमिमा रहेका विभिन्न सैन्य रणनीतिक केन्द्रहरूमा नयाँ हवाई आक्रमण गरेको पुष्टि गरेको छ। स्ट्रेट अफ हर्मुज जलमार्ग हुँदै अगाडि बढिरहेका व्यावसायिक ढुवानी जहाजहरूमाथि इरानले निरन्तर आक्रामकता देखाएपछि त्यसको प्रत्यक्ष जवाफस्वरूप यो कारबाही गर्नुपरेको अमेरिकाले स्पष्ट पारेको छ।
वासिङ्टनका अनुसार इरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल ओसारपसार गरिरहेको पानामाको झन्डा संवाहक तेल ट्याङ्कर ‘किकु’ माथि शनिबार घातक ड्रोन आक्रमण गरेपछि अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले प्रत्याक्रमण गरेका हुन्।
सेन्टकमले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक भिडियो दृश्यमा आकाशबाट इरानी सैन्य अखडाहरूमा शक्तिशाली विस्फोट गराइएको देखिन्छ।
अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुज र त्यसको आसपासका क्षेत्रमा रहेका कुल १० वटा इरानी सैन्य लक्ष्यहरूलाई ध्वस्त पारेको दाबी गरेको छ। यो कारबाही विशेष गरी इरानको सैन्य निगरानी पूर्वाधार, आधुनिक सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक माइनहरू बिछ्याउने क्षमतालाई निष्क्रिय पार्न केन्द्रित थियो।
यता इरानी सञ्चार माध्यमहरूले पनि देशको दक्षिणी क्षेत्रमा पर्ने सिरिक र केश्म इलाकामा शृङ्खलाबद्ध शक्तिशाली विस्फोटहरू भएको पुष्टि गरेका छन्। यसअघि शुक्रबार मात्रै इरानले ‘एभर लभ्ली’ नामक अर्को जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले पहिलो चरणको जवाफी कारबाही गरेको थियो।
अमेरिकी हवाई आक्रमणको केही घण्टा बित्न नपाउँदै इरानले पनि निकै आक्रामक सैन्य प्रतिक्रिया दिएको छ। इरानको तर्फबाट इस्लामिक रिभोल्युसनरी गाड्र्सले आइतबार विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको कडा बदला लिइएको घोषणा गरेको छ।
गाड्र्सले अमेरिकालाई सहयोग पुर्याएको भन्दै छिमेकी मुलुक कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य सुविधाहरूमाथि भारी विस्फोटक पदार्थसहित भीषण प्रहार गरिएको दाबी गरेको छ।
इरानका अनुसार कुवेतमा रहेको अलि अल-सलेम सैन्य अड्डा र बहराइनको पोर्ट सलमानमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ फ्लिट (फिफ्थ फ्लिट) लाई निशाना बनाउँदै आठवटा महत्त्वपूर्ण अमेरिकी सैन्य संरचनाहरूमा क्षति पुर्याइएको छ।
खाडी क्षेत्रमा स्थिति नियन्त्रण बाहिर जान थालेपछि इरानी सेनाले थप चेतावनी समेत जारी गरेको छ। इस्लामिक रिभोल्युसनरी गाड्र्सले अबका दिनमा जुनसुकै बहानामा वा जतिसुकै सानो स्तरमा शत्रु राष्ट्रले आक्रमण गरे पनि त्यसको कडा र चकनाचुर पार्ने खालको जवाफ दिइने चेतावनी दिएको छ।
युद्धविरामका प्रयासहरू भइरहेका बेला अमेरिका र इरानबीच सुरु भएको यो प्रत्यक्ष र शृङ्खलाबद्ध सैन्य मुठभेडले समग्र पश्चिम एसियाको सुरक्षा व्यवस्थालाई थप संकटमा धकेलिदिएको छ।






डिसी नेपाल





Facebook Comment