कृषि क्षेत्रको आधुनिकीकरण र किसानमैत्री नीतिमा कांग्रेस नेता आङदेम्बेको जोड
काठमाडाैं। नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ-बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ तथा कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्वका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले धान दिवस नेपाली कृषि, संस्कृति र जनजीवनसँग जोडिएको महत्वपूर्ण पर्व रहेको उल्लेख गरे।
उनले संविधानले सुनिश्चित गरेको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली तथा कृषि क्षेत्रमा राज्यको लगानीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
नेपाली किसानहरूले अझै पनि समयमै मल, बीउ, सिँचाइ तथा उत्पादनको उचित मूल्य नपाउने समस्या भोगिरहेको तर्फ ध्यानाकर्षण गराउँदै नेता आङदेम्बेले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती सिर्जना भएको तर्फ सचेत गराए।
यस्ता विद्यमान चुनौतीहरूको दिगो समाधानका लागि कृषि अनुसन्धान, जलवायुमैत्री प्रविधि, कृषि बीमा तथा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ।
नेपाली कांग्रेस किसानका हक-हितको संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषिको दिगो विकासका पक्षमा निरन्तर प्रतिबद्ध रहेको दाबी गर्दै उनले धान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।






डिसी नेपाल





Facebook Comment