धनगढीमा धान दिवस: हिलोमा डेउडा र चाँचरीसँगै रोपाइँ काव्य गोष्ठी

डिसी नेपाल
१५ असार २०८३ १७:५०

धनगढी । डेउडा प्रतिष्ठानले राष्ट्रिय धान दिवसको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको ‘रोपाइँ काव्य गोष्ठी’ यस वर्ष पनि धनगढीमा भव्य रूपमा सम्पन्न गरेको छ।

लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै डेउडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले आज धनगढीमा साहित्यकार, कलाकार र संस्कृतिप्रेमीहरूको सहभागितामा परम्परागत रूपमा धान दिवस मनाएको हो। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा रहेको असार १५ गतेलाई प्रतिष्ठानले श्रमको सम्मान गर्दै सामूहिक धान रोपाइँ र डेउडा गायनमार्फत विशेष रूपमा मनाएको छ।

कार्यक्रममा सहभागी साहित्यकार तथा कलाकारहरूले हिलोमा धान रोप्दै मौलिक डेउडा र चाँचरी लयमा गीत गाएर हर्षोल्लासपूर्वक दिवस मनाएका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी, कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर विष्टलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिष्ठानका अध्यक्ष सुरत बहादुर रावत (डोटेली कान्छा)ले हरेक वर्ष झैँ यस वर्ष पनि संस्थाको नियमित कार्यक्रमका रूपमा धान दिवस मनाइएको बताए। कार्यक्रमको सञ्चालन उपमहासचिव प्रेम बिबश चन्दले गरेका थिए।

धान रोप्ने क्रममै दही-चिउरा खाँदै मौलिक कविता वाचन र डेउडा गीतमा रमाउँदै मनाइएको यो कार्यक्रमले परम्परागत संस्कृतिको जगेर्नामा थप टेवा पुर्‍याएको सहभागीहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *