देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

डिसी नेपाल
१५ असार २०८३ २२:१३

ललितपुर। देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन। खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्यभएका छन्।

सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको छ। विभागको तथ्याङ्कअनुसार नेपालमा कूल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ।

यसवर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन्। कतिपय स्थानमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन्। यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढेको छ।

सिँचाइ तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आव २०८१/८२ मा विभागले १६ हजार ३०८ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो। यस्तै चालु आर्थिक वर्ष २०८२/८३ मा छ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ। तर चालु आवको चैत मसान्तसम्म केवल चार हजार ४८ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ। चालु आवमा निर्धारित लक्ष्यमा कमी आउनुको कारण आन्दोलन र आयोजना कटौती रहेको छ।

कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन तथा भरपर्दो सिँचाइ पूर्वाधारको विकास आवश्यक रहेको सिँचाइ तथा जलस्रोत विभागको भनाइ छ। सरकारले सिँचाइ विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न आयोजना अघि बढाइरहे पनि लक्ष्यअनुसार काम सम्पन्न हुन नसक्दा किसान अझै वर्षाको भर पर्नुपर्ने अवस्था कायम रहेको छ।

विशेषगरी धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य सफल बनाउन समयमै सिँचाइ पूर्वाधार विस्तार र प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *