बिहारकी १५ वर्षीया अक्षरा गुप्ताको ऐतिहासिक कीर्तिमान, मात्र १२६ बलमा नटआउट ३०६ रन

डिसी नेपाल
१६ असार २०८३ ११:२८

काठमाडौं । बिहारका युवा क्रिकेटर वैभव सूर्यवंशीले क्रिकेट जगतमा तहल्का मच्चाएपछि अहिले बिहारकै अर्की १५ वर्षीया प्रतिभावान महिला खेलाडी अक्षरा गुप्ताले घरेलु क्रिकेटमा इतिहास रचेकी छिन्।

भागलपुरको सैंडिस कम्पाउन्ड मैदानमा आयोजित ‘बिहार विमेन्स अन्डर-१९ वान डे ट्रफी’ को उद्घाटन खेलमा रक्सौलको प्रतिनिधित्व गर्दै अक्षराले मात्र १२६ बलमा ३०६ रनको अविजित तेहरो शतक प्रहार गरेकी छिन्।

महिला सीमित ओभरको क्रिकेट इतिहासमा यो कुनै पनि बिहारकी खेलाडीले बनाएको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो। उनको यो विष्फोटक र अद्वितीय ब्याटिङको मद्दतले टोलीले ४० ओभरमा ४५० रनको विशाल योगफल तयार पारेको थियो, जसको जवाफमा विपक्षी टोली मात्र १२१ रनमा समेटियो।

अक्षराले म्याचमा सुरुदेखि नै आक्रामक रूप लिँदै केवल १६ बलमा अर्धशतक र ३४ बलमा शतक पूरा गरेकी थिइन्। कुल २३३ मिनेट क्रिजमा बिताएकी उनले २४२.८६ को असाधारण स्ट्राइक रेटमा ५५ वटा चौका र ८ वटा छक्का प्रहार गरेकी थिइन्।

भारतीय महिला घरेलु क्रिकेट इतिहासमा यो समग्रमा दोस्रो ठूलो स्कोर हो। यसअघि मुम्बईकी इरा जाधवले मेघालयविरुद्ध अविजित ३४६ रन बनाएर राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। यो कीर्तिमानी इनिङ्स लगत्तै भएको अर्को खेलमा पनि अक्षराले आफ्नो उत्कृष्ट फर्म जारी राख्दै मात्र ६८ बलमा १६४ रन कूट्दै बिहार महिला क्रिकेटमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेकी छिन्।

नेपाल-भारत सीमा नजिकै अवस्थित पूर्वी चम्पारण (मोतिहारी) जिल्लाको एउटा सानो सीमावर्ती सहर रक्सौलकी बासिन्दा अक्षराको पारिवारिक पृष्ठभूमि निकै सामान्य छ। उनका बुबा राज किशोर शाह रक्सौलमा एउटा कुखुराको पसल सञ्चालन गर्छन् भने आमा रीना देवी गृहणी हुन् ।

८ वर्षको उमेरमा आफ्ना दाजुभाइ र छिमेकी केटाहरूसँग गल्ली क्रिकेट खेल्न सुरु गरेकी अक्षराको खेलप्रतिको लगाव देखेर उनका बुबाले घरको पछाडि एउटा सानो प्र्याक्टिस पिच र नेटको व्यवस्था मिलाइदिएका थिए ।

छोरीलाई फिट राख्न उनकी आमाले हरेक बिहान ५ बजे उठाएर दुध पिलाउने र दौडिन पठाउने कडा दैनिकी बनाइदिएकी थिइन् । गाउँमा कुनै औपचारिक क्रिकेट एकेडेमी र महिला टोली नभएका कारण उनलाई सुरुवाती दिनमा उनका काका रामकृपाले दैनिक ५ घण्टासम्म थ्रो-डाउन गराएर ब्याटिङको अभ्यास गराएका थिए । बिहार क्रिकेटसँग जोडिएका उनका दाजु ऋषभलाई उनले आफ्नो पहिलो प्रेरणाको स्रोत मान्छिन्।

सन् २०२४ अक्षराको क्रिकेट करियरको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ सावित भयो। ट्रायलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी बिहारको अन्डर-१९ महिला टोलीमा परिन् र उनको खेल कौशल र नेतृत्व क्षमता देखेर बिहार क्रिकेट एशोसिएशनले मात्र १४ वर्षको उमेरमा उनलाई टोलीको कप्तान नियुक्त गर्यो।

उनले हरियाणा र पञ्जाब जस्ता बलियो टोलीहरू विरुद्ध सानदार अर्धशतक प्रहार गर्दै टिमको बिँडो सम्हालिन्। उनको यही निरन्तर प्रदर्शनको फलस्वरुप फेब्रुअरी २०२६ मा मात्र १४ वर्षकै उमेरमा उनको चयन बिहारको सीनियर महिला टोलीमा भयो, जसले उनलाई राज्यको सीनियर टोलीबाट खेल्ने सबैभन्दा कान्छी महिला क्रिकेटर बनायो।

यसका साथै अक्षरा एकै सिजनमा बीसीसीआईका चारवटै उमेर समूहका फर्म्याटहरू- अन्डर-१५, अन्डर-१९, अन्डर-२३ र सीनियर महिला टोलीका प्रतियोगिताहरू खेल्ने बिहारको पहिलो महिला क्रिकेटर बनेकी छिन्।

विराट कोहली र स्मृति मन्धानाविरुद्ध प्रेरित भएर कभर ड्राइभ र स्पिन बलिङविरुद्ध उत्कृष्ट सट प्रहार गर्ने देब्रेहाते आक्रामक ब्याटर अक्षराको यो सफलतामा बिएसिएको नेतृत्वले बधाई दिँदै उनको उज्ज्वल भविष्यको कामना गरेको छ। खेल विश्लेषकहरूले उनलाई बिहार क्रिकेटको नयाँ “रन मेसिन” को संज्ञा दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *