कविता :  ए जिन्दगी !

तोषा जोशी
२० असार २०८३ ८:१३

ए जिन्दगी ! कहिलेकाहीँ जिउन छोडेर त हेर,

बोझिला ती सपनाका भारी बिसाएर।

खुला आकाशमा पखेटा फिजाएर त हेर,

बग्न देऊ ती आँसुहरूलाई स्वतन्त्र अनि।।१।।

अनि तिनै आँसुले सपना सजाएर त हेर।

दुःखको मात्र कति गुनासो गर्छौ ए जिन्दगी !

कहिलेकाहीँ पीडाको सौन्दर्य महसुस गरेर त हेर,

दुःख-सुख दुवैलाई अँगालेर त हेर।।२।।

सधैँ जित्ने, सधैँ दौडिने धुन मात्रै कति,

हारको स्वाद पनि एकपल्ट चाखेर त हेर।

सिधा-सिधा बाटो मात्रै कति हिँड्छौ,

कहिलेकाहीँ घुम्तीको सौन्दर्य पनि निहारेर त हेर।।३।।

थाहा छ, यात्रा कठिन छ, समय सीमित छ,

समयको खेलौना नभई, समयसँग लड्न सिकेर त हेर।

समयलाई बाँध्ने कोसिस होइन,

तिमी आफैँ एकपल्ट विश्राम लिएर त हेर।।४।।

ए जिन्दगी ! कहिलेकाहीँ बोझ हल्का गर्न,

आफ्ना भावना शब्दमा पोखेर त हेर।

शून्यतामा आफैँलाई खोजेर,

स्वतन्त्रताको गीत गाएर त हेर।

कति डराउँछौ अँध्यारोसँग,

त्यही अँध्यारोको तारा भएर त हेर, तारा भएर त हेर।

ए जिन्दगी ! कहिलेकाहीँ जिउन छोडेर त हेर।।५।।

 मौनता

हो, म मौन छु,

तर मौनता मेरो कमजोरी पक्कै होइन।

यो त मभित्रको पीडाको प्रतिबिम्ब हो।

जब शब्दहरू निरर्थक हुन्छन्, आवाजहरू ओझेल पर्छन्,

भावनाहरू अव्यक्त हुन्छन्, अनुभूतिहरू गुम्सिन्छन्,

अनि मौनता-

अदृश्य शक्ति, अदम्य साहस र अडिग विश्वास बनेर

शान्त हृदयमा मलिन आस बनेर टोलाउँछ।।१।।

कहिले नदी बनेर शान्त बग्छ त कहिले त्यही नदी छाल बन्छ,

कहिले आँधी बनेर उड्छ त कहिले आँसु बनेर छचल्किन्छ।

कहिले आशा बनेर झुल्किन्छ त कहिले आश्वासन,

कहिले मुस्कान बनेर गुञ्जन्छ त कहिले सङ्गीत।।२।।

हो, मौनतामा त्यो घाउ हुन्छ,

जो देखिँदैन तर पोलिरहन्छ।

त्यो शान्ति हुन्छ जो शून्यतामा पनि मुस्कुराइरहन्छ।

शब्दहरू थाकेका बेला, ओठहरू काँपेका बेला,

आँखा टोलाएका बेला, आवाज रित्तिएका बेला

मौनता शक्ति बन्छ।।३।।

जब तिमी बोल्न सक्दैनौ

वा बोल्नुको कुनै अर्थ हुँदैन,

मौनता मौन चिच्याउँछ,

बिनाशब्द हृदयको भाषा बोल्दछ,

चुपचाप शान्तिको सन्देश प्रवाह गर्दछ।

शायद कहिलेकाहीँ चुप बस्नु नै ठूलो जवाफ हो,

किनभने मौनता शब्दभन्दा गहिरो भाषा बोल्छ।।४।।

शब्दको भण्डार सीमित छ

तर मौनता अनन्त छ।

यदि मौनताको भाषा मात्र बुझ्न सक्यौ भने,

शब्दभन्दा परको एउटा जीवनसत्य छ-

जहाँ संसार छ, आशा छ, भरोसा छ, शक्ति छ, आत्मशान्ति छ।।५।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *