सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई
सुदूरपश्चिम । ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड’ अन्तर्गत पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीकी मानमती विष्टलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा दुवै जनालाई यस वर्षको उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।
उनीहरूले ट्राफिसहित जनही रु ३५ हजार प्राप्त गरेका छन्। पुरुषतर्फ भारोत्तोलनका अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका हेमन्त धामी, महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मीना देउवा मनोनयनमा परेका थिए ।
‘वर्ष प्रशिक्षक’मा कबड्डीका विष्णुदत्त भट्ट, ‘वर्ष युवा खेलाडी’मा एथलेटिक्सका विक्रम नाथ, ‘सुदूरपश्चिम आइकन’ पुरुषतर्फ भारोत्तोलनका भण्डारी र महिलातर्फ एथलेटिक्सका पूजा साउद गरेका छन्। भट्टलाई रु ३० हजार, नाथलाई रु २५ हजार, भण्डारी र साउदलाई जनही रु २० हजारसहित पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए।
यसैगरी क्रिकेटका शेर मल्ललाई ‘स्पेशल अवार्ड’ र सुरेश हमाललाई लाइफटाइम एचिभमेन्ट अवार्ड (मरणोपरान्त) अवार्डसहित जनही रु २० हजार पुरस्कार प्रदान गरिएको उनले बताए।
अवार्डको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेका छन्। कार्यक्रममा परिषद्का सदस्य सचिव लोकबहादुर खड्का, एसपीएका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीलगायतले सम्बोधन गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment