नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने

डिसी नेपाल
२० असार २०८३ ९:५७

काठमाडौँ। राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।

विभागले बिहीबार एक जरुरी सूचना जारी गर्दै आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिने जनाएको छ। यसअघि नै प्रणाली परिवर्तनको क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो।

सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी आवेदन संकलन तथा वितरण सम्बन्धी सेवाहरू असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द रहनेछन्।

यस्तै, काठमाडौँस्थित राहदानी विभाग स्वयंले प्रत्यक्ष रूपमा प्रदान गर्दै आएको राहदानी सेवा भने असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुने विभागले जनाएको छ।

विभागले नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा प्रवाह थप सुरक्षित, प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। प्रणाली स्तरोन्नतिको यस अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै विभागले आवश्यक सहयोग र सहकार्यका लागि सबैसँग अनुरोध समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *