कालापत्थरबाट सगरमाथा नियाल्दा

ज्ञानेन्द्र विवश
२० असार २०८३ १०:१६

घडीमा साढे चार बज्छ। हिजोको दिन बितिसकेको छ। अर्को बार र गते आइसकेको छ। गोरक्शेपको ढुङ्गे लजको दैलो घोर्‍याक्क खोलेर म बाहिर निस्किन्छु। हावा यस्तो चिसो छ कि सास फेर्दा नाकभित्रै देखि सियोले घोचेजस्तो मुटुसम्मै छुन पुग्छ। लगलग कम्पन छुट्छ।

चिसोको तापक्रमले वातावरणलाई कक्रक्क पारिदिएको जस्तै लाग्छ। टर्च बालेको उज्यालोले अगाडिको बाटो मात्र देखाउँछ, बाँकी सबैतिर कालो अन्धकार- जुन अन्धकारमा तारा मात्र छन्, अनगन्ती, हिमालको हावाले पुछेर टल्काएका जस्ता। देख्नुपर्ने दृश्यमा शून्यताको मौनता मात्र व्याप्त छ। मनमा भने कौतूहलको आँधीबेरीले उडाएर तुरुन्तै माथि कालापत्थरको टाकुरामा पुगिहालौँ भन्छ।

पाँच हजार मिटरमाथिको उचाइमा हिँड्नु भनेको शरीरसँग सम्झौता गर्नु मात्रै होइन, जीवनलाई नै जोखिममा राखेर देख्नुको भोकलाई पूरा गर्ने ध्याउन्नतिर उन्मुख हुनु हुँदोरहेछ। हरेक आठ-दस कदममा घोप्टो परेर सास तान्नुपर्छ। मुटु यसरी ढुकढुक गर्छ, मानौँ छातीभित्र कसैले ढोल बजाइरहेको छ। यही तालमा मुटुको कम्पन नृत्यमग्न हुन थालेको आभास हुन्छ।

‘हिमाल जित्न होइन, हिमालसँग मिल्न आउनुपर्छ,’ गाइड पेम्बा बीचबीचमा भन्छन्, आफ्नै बाउबाजेले सिकाएको भनी सम्झँदै। उनको स्वरमा वर्षौँको हिमाली अनुभवले माझेको धैर्य छ।

अकासिएका पाइला पछ्याउँदै उकालो उक्लिरहेका मरन्च्याँसे ज्यान र बडेमानका पहरेदार पर्यटकहरूलाई उनी उत्साह उमार्दै कालापत्थरतिर हिँडाइरहेका छन्। म पनि उनको आवाज सुन्दै बिस्तारै घुर्मैलो अँध्यारोमा पाइला चालिरहेको छु।

अघि-अघि हिँडिरहेकी जर्मन पर्यटक ग्रेटा केही पाइला अगाडि बढाउँदै पुनः रोकिन्छिन्, अक्सिजनको कमीले टाउको दुखेको बताउँछिन्, तर फर्कने कुरा गर्दिनन्।

‘म युरोपका पहाड धेरै चढेकी छु,’ उनी हाँस्दै भन्छिन्, ‘तर यहाँको हावाले बेग्लै सिकाउँछ। यो हावामा हिमाली सुगन्धको मिठास छ। यसले आफ्नो सीमा कहाँ छ भनेर बताउँदैन। यो कुरा कतै सिक्न पाइएको पनि छैन।’

उनको आँखामा थकाइभन्दा बढी एक किसिमको भोक देखिन्छ- अझै अगाडि बढ्ने भोक। अझै प्राकृतिक सुन्दरतामा रमाउने, हराउने र प्रकृतिमै विलीन हुने भोक!

पछाडि भारी बोकेर हिँड्ने भरिया दावा भने बेग्लै लयमा हिँडिरहेको देख्छु- न हतार, न थकावटको आभास! अरू पदयात्रीले उनलाई देख्दा भारीको बोझमा थिचिएको मायालाग्दो रूप मात्रै देख्छन्। उनको निधारमा पसिना छ, तर मुखमा गीतको लयजस्तो सुस्केरा सुसेलिँदै उकालोको सुनसान पाटोमा गुञ्जिरहेको महसुस गर्छु।

‘हामीलाई त यो घर जस्तै हो हजुर!’ उनी सुस्तरी भन्छन्, ‘पाहुनालाई यो सपना हो, हामीलाई यो दिनचर्या।’ यति भन्दा उनको स्वरमा न गर्व छ, न गुनासो। केवल पहाडसँग रोपिएको एक शान्त सम्बन्धको छचल्को छताछुल्ल भएको छ। हिमाली उचाइसँग दिनदिनै हिँडेको परिपक्व अनुभवको बेलिबिस्तार उनको मुखबाट स्वाभाविक किसिमले अभिव्यक्त हुन्छ।

अँध्यारो बिस्तारै पातलिँदै जान थालेको छ। पूर्वतिरको आकाश पहिले बैजनी, अनि गुलाफी र अन्ततः सुनौलो हुँदै जान्छ। यही बेला, कालापत्थरको टुप्पोमा पुगेको क्षणमा, सगरमाथाले आफ्नो अनुहार देखाउँछ।

के लेखूँ यो दृश्यबारे? कसरी बयान गरौँ त्यो विछट्टको सौन्दर्यबारे? आँखाले त्यसलाई चुमिरहेका छन्। मनले महसुस गरिरहेको छ। हृदयले आत्मसात् गरिरहेको छ। खुसीको कुनै सीमा छैन। असन्तुष्टिको कुनै नामोनिसान अब बाँकी छैन।

यतिबेला यस्तो क्षणमा बरबर बोलिरहने शब्दहरूमै अनायासै बिर्को लाग्दोरहेछ। निःशब्द मन चुपचाप प्रकृतिको विराट वैभवमा नतमस्तक भएर टोलाउन थाल्दोरहेछ। यात्राको कष्टकर पल भुसुक्कै बिर्सिएर जीवन नै उचाइको थाप्लोमा बुरुक्क उफ्रँदै हिमाली चुली-चुचुराहरूमा फड्को मार्न उद्यत हुन थाल्दोरहेछ। कति चञ्चल, चलायमान र विनम्र प्रकृति मुटुभरि कोमल–काया कलेवरको सौन्दर्य बिछ्याएर हरेक पदयात्रीलाई यात्राको स्वाद चखाइरहेको छ।

म पनि घुटुघुटु स्वाद चाख्दै तृप्त मन लिएर हावासँग बेगबतासले हिमाली सेरोफेरोमा उडान भर्दै छु।

यस्तो बेलामा शब्दविहीन भइँदोरहेछ। संसारकै अग्लो छानासामु आफूलाई पाउँदा खुसी र हर्षका कुन र कस्ता शब्द बोल्नु?!

सगरमाथाको टुप्पोमा कलिलो बिहानको प्रथम घामको किरणले स्पर्श गरिदिँदा चाँदीजस्तो चट्टान क्षणभरमा सुनजस्तो टल्किएको देख्छु। यसलाई शेर्पाहरू ‘गोल्डेन आवर’ भन्छन्।

वरिपरि नुप्त्से, ल्होत्से, पुमोरी, आमादब्लम आदि हिमालका टाकुराभरि हिउँले ढाकिएका टुप्पाहरू होइनन्, ती त सुनका थुप्रा हुन्। घामको चुम्बनले ती एकैचोटि उज्यालिँदा यस्तो दिव्य दृश्य दृष्टिगोचर हुँदोरहेछ कि यसको बयान गरी साध्य छैन। मानौँ, प्रकृतिले आफ्नै हातले सुनको सुनौलो कण छरेको छ।

उचाइको यो थाप्लोमा अनेक देशका पर्यटकहरूको एकाबिहानै खचाखच भिड छ। मेरो छेउमा उभिएकी पर्यटक ग्रेटा आँखा चिम्म गरेर उभिन्छिन्, केही बोल्दिनन्, बरु दुई हात जोडेर नमन गरेजस्तो गर्छिन्। भाषा नबुझे पनि भाव त सबैको एउटै हुँदोरहेछ। चुपचापको सौन्दर्य पनि कति मिठो, कति सुन्दर, कति मनमोहक!

अपितु, साँचो कुरा भन्नुपर्दा, यो दृश्य जति भव्य छ, त्यति नै छोटो पनि छ। दस मिनेटपछि घाम उक्लिन्छ, सुनौलो रङ फिक्का सेतोमा बदलिँदै जान्छ। यसपछि मलाई एक किसिमको खिन्नता पनि लाग्छ- यस्तो सुन्दरता किन यति छिटै बित्छ? ‘जुन कुरा छिटो सकिन्छ, त्यही कुराले जीवनभर सम्झना दिन्छ’ भन्ने कुरा यहीँ आएर सत्य लाग्छ।

वास्तवमा सुखद पल भनेको धेरै लामो समय टिकिरहनु हुँदैन। ‘चिनी पनि धेरै खाए तीतो हुन्छ’ भनिन्छ।

दावा टाढैबाट हेर्दै मुसुक्क हाँस्छन्। उनले यतिबेला भरिया जीवनको थकाइ बिर्सिएका छन्। उनी मेरो नजिकै आएर बोलिरहेका छन्— ‘पाहुनाहरू फोटो खिच्छन्, हामी त हरेक हप्ता यही टुप्पो देख्छौँ, तर कहिल्यै पुरानो लाग्दैन।’

उनको यो सामान्य भनाइमा नै जीवनको एउटा ठूलो पाठ लुकेको छ जस्तो मलाई लाग्छ- सुन्दरता दोहोरिँदा पनि साँचो अनुभूति कहिल्यै फिक्का पर्दैन, हेर्ने मन ताजा भए पुग्छ।

यही प्रश्न र भनाइले नै शायद पहाडको साँचो पाठ सिकाउँछ। सुन्दरता क्षणिक हुन्छ भनेरै त्यो बहुमूल्य हुन्छ। यो घाम, यो सुनौलो टुप्पो, यो चिसो हावामा उभिएर मैले अनुभव गरेको मौन विस्मय भन्नु यी कुनै पनि दृश्यहरूले अझै पूरा समेट्न सकेका छैनन्।

क्यामेराको लेन्सले प्रकाश टिप्न सक्छ, तर हातखुट्टा जमेको यो चिसो, फोक्सोमा दुख्ने यो श्वास र मुटुभित्र उर्लिएको यो आँसुजस्तो अनुभूति यी त कागजमा वा तस्बिरमा कहिल्यै अटाउँदैनन्। अनुभूतिको विशाल आयतनमा आकाशजस्तो शून्यता र धरतीको यो विराट धरातलमा उभिएर सोच्दा म आफू कहाँ छु, थाहा नहुँदोरहेछ। सम्भवतः परिकल्पना गरिएको स्वर्ग भनेको यही रहेछ- भूस्वर्ग नेपाल!

यतिबेला कालापत्थरको यो उचाइमा चिसो ढुङ्गामाथि टुसुक्क बसेर सम्झिँदा मलाई लाग्छ- अव्यक्त अनुभूति पनि लेखेर लेख्न नसकिने अथाह शब्दहरूको अनन्त यात्रा नै रहेछ। जीवनमा यस्तो प्रीतिकर पल बाँच्नुको आह्लादमय क्षण मेरो लागि अहोभाग्यको एक अन्तहीन शृङ्खला जस्तै बनिरहेको छ।

फर्कने ठाडो ओरालो बाटोमा, गोरक्शेपतिर ओर्लिँदै गर्दा, म सोच्छु- हामी किन यति टाढा कठिन बाटोमा हिँडेर आउँछौँ, यस्तो अग्लो र निर्मम ठाउँमा, केवल केही मिनेटको दृश्यका लागि? केवल एकैछिनको दृश्यावलोकनका निम्ति?

‘जे सजिलै पाइन्छ, त्यसको मूल्य हुँदैन’ भन्ने कुरा सम्झिन्छु। यसको जवाफ शायद यही हो- पहाड, नदी, झरना र हिमालले हामीलाई हामी साना हुनुको अनुभूति दिन्छ। सगरमाथाको अगाडि उभिँदा, मान्छे आफ्ना सबै चिन्ता, महत्त्वाकाङ्क्षा र अहङ्कार क्षणभरका लागि बिर्सिन्छ। बाँकी रहन्छ मात्र श्वास, चिसो र अगाडि उभिएको अटल, भव्य धरोहर सर्वोच्च शिखर सगरमाथा!

गोरक्शेप पुग्दा घाम पूरै तातिइसकेको हुन्छ। आधार शिविरको यो काखमा पनि चिसोको आभास छैन। बुद्ध लजका पेम्बा शेर्पा यसलाई मौसमको कारण बताउँछन्- ‘हिँउ पर्ने याममा सुक्खा खडेरी हुन्छ। चौँरी खर्क मासिइसके। हिमपातको डरै छैन। हिमालमा हिउँ छैन। यसो भएपछि अब त यहाँ जाडो नै छैन।’

म पेम्बा दाइको कुरा मनमा खेलाउँदै टोलाउन थाल्छु। लजको चियापसलबाट आउने अदुवा चियाको बास्नाले मलाई फेरि पृथ्वीमा तान्छ- साधारण, न्यानो, मानवीय संसारमा। पर्यटक ग्रेटा टेबलमा बसेर आफ्नो देशका साथीलाई भ्वाइस म्यासेज पठाउँदै छिन्, स्वरमा अझै उत्साह छ।

दावा र पेम्बा भने चिया सुरुप्दै अब केहीछिन आराम गरी आधार शिविर जाने योजना बनाउँछन्। उनीहरूका लागि यो एउटा अर्को सामान्य बिहान मात्र हो, तर मेरा लागि जीवनभर नबिर्सिने एउटा नयाँ अध्याय!

मनको मझेरीमा, कालापत्थरको त्यो सुनौलो क्षण अझै बसिरहेको छ र बसिरहनेछ। शायद जीवनभर बस्नेछ- जसरी हिमालले आफूमा हिँउ बोकिरहन्छ, त्यसैगरी मनले पनि यस्ता क्षण बोकिरहन्छ, बिर्सन खोज्दा पनि नबिर्सिने गरी। ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ का अविस्मरणीय पलहरू…!

(‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ शीर्षक लेखकको प्रकाशोन्मुख नियात्राबाट)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *