सहकारीप्रतिको जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड
पाटन (ललितपुर) । राष्ट्रिय सहकारी महासङ्घले १०४औं अन्तरराष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले सहकारीप्रतिको जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहकारी क्षेत्रको योगदानको चर्चा गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धिमा सहकारीलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले आफ्नो नेतृत्वमा ५८ दिनको अवधिमा समस्याग्रस्त सहकारीबाट रु छ करोडभन्दा बढी असुली गरी रु चार करोड ५० लाखभन्दा बढी बचतकर्तालाई फिर्ता गरिएको जानकारी दिए। उनका अनुसार दुई सहकारी संस्था समस्यामुक्त भई पुनः सञ्चालनमा आउने प्रक्रियामा छन्।
महासङ्घका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सीमित सहकारीमा देखिएका समस्याका कारण समग्र सहकारी अभियान कमजोर भएको बताए।
महासङ्घका सल्लाहकार लीलामणि पोखरेलले सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र अनुशासन सुदृढ गर्न आवश्यक भएको बताए।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उषा झाले समाज, समुदाय र सहकारीबीचको सहकार्यले दिगो विकास र शान्ति प्रवद्र्धनमा योगदान पुग्ने बताए।
सहकारी विभागका रजिस्ट्रार बाबुराम गौतमले संस्थागत सुशासन, इमानदारी, पारदर्शिता र सदस्यकेन्द्रित कार्यशैलीमार्फत सहकारीप्रतिको जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।
त्यस अवसरमा पाँच विधामा उत्कृष्ट सहकारी सङ्घ, संस्था, सहकारी अभियन्ता, कर्मचारी र पत्रकारलाई सम्मान गरिएको थियो।






डिसी नेपाल





Facebook Comment