आजसम्म जित्न नसकेको नर्वेलाई ब्राजिलले आज हराउला ?
काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ अन्तर्गत आज राती १:४५ बजे हुने प्रिक्वार्टरफाइनल (राउन्ड अफ १६) को खेलमा एउटा यस्तो भिडन्त हुँदैछ, जसको इतिहास निकै रोचक र एकपक्षीय छ।
पाँच पटकको विश्व विजेता ब्राजिल आज न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा नर्वेविरुद्ध मैदान उत्रिँदा आफ्नो ऐतिहासिक ‘खराब रेकर्ड’ सुधार्ने दाउमा हुनेछ। विश्व फुटबल इतिहासमा नर्वे यस्तो टोली हो जसलाई ब्राजिलले आजसम्म एक पटक पनि पराजित गर्न सकेको छैन।
ब्राजिल र नर्वेबीच हालसम्म भएका कुल ४ भेटहरूमा ब्राजिल जितविहीन रहेको छ। यी दुई टोली फिफा विश्वकपमा इतिहासमा केवल एक पटक मात्र आमनेसामने भएका छन्। सन् १९९८ को फ्रान्स विश्वकपको समूह चरणमा भएको उक्त ऐतिहासिक खेलमा नर्वेले ब्राजिललाई २–१ गोल अन्तरले स्तब्ध पारेको थियो।
खेलको ७८औँ मिनेटमा बेबैटोको गोलमार्फत ब्राजिलले अग्रता लिए पनि नर्वेका तोरे आन्द्रे फ्लोले ८३औँ मिनेटमा बराबरी गोल फर्काए र ८९औँ मिनेटमा केटिल रेक्दालले पेनाल्टीमार्फत गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए।
विश्वकप बाहेक यी दुई टोलीबीच तीन वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू भएका छन्। सन् १९८८ मा भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो भने सन् १९९७ मा ओस्लोमा भएको खेलमा नर्वेले ब्राजिलमाथि ४–२ को शानदार जित दर्ता गरेको थियो।
त्यस्तै, दुई टोलीबीचको अन्तिम भेट सन् २००६ को मैत्रीपूर्ण खेलमा भएको थियो, जुन १–१ गोलको बराबरीमा टुङ्गिएको थियो। समग्रमा नर्वेले ब्राजिलविरुद्ध २ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन्।
आजको खेलमा इतिहास नर्वेको पक्षमा देखिए पनि वर्तमान लय र विज्ञहरूको अनुमानले ब्राजिललाई बलियो दाबेदार मानेको छ। कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलियन टोली यस विश्वकपमा बलियो रक्षापंक्ति र जुनियर विनिसियस जस्ता आक्रामक खेलाडीको लयका साथ मैदान उत्रिनेछ।
अर्कोतर्फ, नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड ब्राजिलको बलियो डिफेन्सलाई चिर्दै आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछन्। के ब्राजिलले आज २८ वर्ष पुरानो विश्वकपको बदला लिँदै नर्वेविरुद्ध पहिलो ऐतिहासिक जित दर्ता गर्ला वा नर्वेले आफ्नो अपराजित विरासत जोगाउला भन्ने कुरा आजको खेलले तय गर्नेछ।






डिसी नेपाल





Facebook Comment