एमएलसी क्रिकेट: दासुन शनाकाको ऐतिहासिक ‘डबल ह्याट्रिक’
काठमाडौँ । श्रीलङ्कन अलराउन्डर दासुन शनाकाले अमेरिकामा जारी मेजर लिग क्रिकेट (एमएलसी) २०२६ मा सनसनीपूर्ण बलिङ गर्दै ऐतिहासिक ‘डबल ह्याट्रिक’ (लगातार चार बलमा चार विकेट) को कीर्तिमान बनाएका छन् ।
शनाकाको यो अविश्वसनीय प्रदर्शनको मद्दतले सियाटल ओर्कासले टेक्सस सुपर किंग्समाथि ९ रनको रोमाञ्चक र नाटकीय जित दर्ता गरेको छ । यो मेजर लिग क्रिकेटको इतिहासकै पहिलो डबल ह्याट्रिक हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सियाटल ओर्कासको सुरुवात निकै कमजोर रहेको थियो । टेक्ससका बलरहरूको घातक बलिङका सामु ओर्कासले १३ औँ ओभरमा मात्र ७० रन जोड्दा ७ विकेट गुमाइसकेको थियो ।
तर, तल्लो क्रममा हरमित सिंह र क्यामरुन ग्याननबीचको ३१ रनको महत्त्वपूर्ण साझेदारी तथा शनाकाको १६ रनको योगदानले ओर्कासले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२१ रनको सामान्य योगफल तयार गर्यो । टेक्ससका तर्फबाट एडम मिल्नेले मात्र १० रन खर्चेर २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको टेक्सस सुपर किंग्सले पनि ओर्कासका बलर ओट्निल बार्टम्यानको कडा बलिङको सामना गर्नुपर्यो, जसले मात्र ९ रन खर्चेर ३ विकेट लिए । यद्यपि, सुभम रञ्जनेको उत्कृष्ट ब्याटिङले टेक्ससलाई जितको नजिक पुर्याएको थियो ।
खेलको अन्तिम ओभरमा टेक्ससलाई जितका लागि १५ रन आवश्यक हुँदा कप्तान मार्कस स्टोइनिसले बल दासुन शनाकाको हातमा थमाएका थिए । अन्तिम ओभरको पहिलो बलमा रञ्जनेले चौका र दोस्रो बलमा एक रन लिएपछि टेक्ससलाई जितका लागि अन्तिम ४ बलमा १० रन आवश्यक थियो ।
त्यसपछिका चार बलमा शनाकाले जुन जादु देखाए, त्यसले खेलको इतिहास नै बदलिदियो । तेस्रो बलमा उनले डोनाभन फरेरालाई बोल्ड गरे भने चौथो बलमा क्याल्भिन सभेज लङ-अनमा शिमरन हेटमायरद्वारा क्याच आउट भए । पाँचौँ बलमा एडम मिल्नेलाई विकेटकिपरको हातबाट क्याच गराउँदै शनाकाले आफ्नो ह्याट्रिक पूरा गरे ।
अन्तिम बलमा आम्शी डे सिल्भाले ठूलो सट खेल्ने प्रयास गरे पनि लङ-अनमा पुनः हेटमायरले उत्कृष्ट क्याच लिएपछि शनाकाले लगातार चार बलमा चार विकेट लिँदै आफ्नो ‘डबल ह्याट्रिक’ पूरा गरे र टेक्ससको निश्चित जस्तै बनेको जित खोसेर ओर्कासलाई अविश्वसनीय सफलता दिलाए ।






डिसी नेपाल





Facebook Comment