युट्युबमा प्रधानमन्त्री बालेन शाहलाई गाली गरेको आरोप लागेका रोशन पोखरेल पुर्पक्षका लागि जेल चलान
काठमाडौँ । युट्युब र विभिन्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लगायतका नेताहरू विरुद्ध अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटे घर भएका पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
विद्युतीय कारोबार ऐनअन्तर्गत दर्ता गरिएको उक्त मुद्दामा न्यायाधीश कुमार मास्केको इजलासले पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिएका छन् । यसअघि प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो ।
युट्युबमा गाली गरेको आरोपमा उनलाई पक्राउ गरिएपछि देशभर व्यापक विरोध भएको थियो, जसका कारण प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएर छाडेको थियो । तर, आफन्तको जिम्मा लगाइए पनि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेपछि यो नयाँ आदेश आएको हो ।
सरकारी वकिलको अभियोग पत्रमा पोखरेलले प्रधानमन्त्री शाह तथा निजको परिवारलाई लक्षित गरी मान, सम्मान र प्रतिष्ठामा आँच आउने गरी अपमानजनक तथा अमर्यादित शब्दहरू प्रयोग गरी भिडियो तथा स्टेटस पोस्ट गरेको उल्लेख छ । उनले युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता डिजिटल माध्यमहरूको दुरुपयोग गरी यस्ता सामग्रीहरू सम्प्रेषण गरेको अभियोग लगाइएको छ ।






डिसी नेपाल





Facebook Comment