सर्लाहीको फितलो सुरक्षा अवस्थाप्रति सांसद नीतिमा भण्डारीद्वारा संसद्‌मा चिन्ता, गृहमन्त्रीसँग जवाफ माग

डिसी नेपाल
२५ असार २०८३ १२:४५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नीतिमा कार्की भण्डारीले सर्लाही जिल्लामा पछिल्लो समय शान्ति सुरक्षा र कानुन व्यवस्था निकै कमजोर बन्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा शृङ्खलाबद्ध रूपमा आपराधिक घटनाहरू बढ्दै गएको दाबी गर्दै आम नागरिकले चरम असुरक्षा महसुस गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताइन्।

आफ्नो सम्बोधनका क्रममा उनले जिल्लामा घटेका केही प्रतिनिधिमूलक घटनाहरू सार्वजनिक गर्दै लालबन्दी नगरपालिका-७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले घातक आक्रमण गरी लुटपाटको प्रयास गरेको र सो क्रममा चार राउन्ड गोली समेत चलाएको घटना संसद्‌मा उल्लेख गरिन्।

सुरक्षा दिने प्रहरी चौकीकै नजिकै यसरी खुलेआम गोली चल्नु र लुटपाटको प्रयास हुनु निकै गम्भीर र डरलाग्दो विषय भएको उनको भनाइ थियो। यसका साथै सांसद भण्डारीले ईश्वरपुर–३ मा स्थानीय रामनरेश साहकी श्रीमतीमाथि भएको बर्बर कुटपिटको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन्।

जग्गामा पोल गाड्ने विषयलाई लिएर दुई पक्षबीच विवाद भएको र सो मुद्दामा अदालतले समेत काम रोक्न आदेश जारी गरिसकेको अवस्थामा अदालतको अवहेलना गर्दै जबरजस्ती कुटपिट गरिएको उनले जानकारी दिइन्।

सर्लाहीमा अहिले कानुन व्यवस्थाको धज्जी उडाइएको भन्दै उनले दिउँसै गोली चल्नु र नागरिकमाथि कुटपिट हुनु अचेल सामान्य घटना जस्तो बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरिन्।

देश र जनताको शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो र अनिवार्य दायित्व भएको उल्लेख गर्दै उनले गृहमन्त्रीसँग पटक-पटक यस्ता जघन्य घटनाहरू दोहोरिँदा पनि सुरक्षा संयन्त्र र गृह प्रशासनले प्रभावकारी कारबाही किन गर्न नसकेको भनी तीखो प्रश्न गरेकी छन्।

सांसद भण्डारीले अपराधमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलसँग आबद्ध भएपनि उनीहरूलाई तुरुन्त कानुनी दायरामा ल्याएर निष्पक्ष अनुसन्धान र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरिन्।

उनले सर्लाहीमा खटिएको सुरक्षा संयन्त्रलाई थप क्रियाशील एवं प्रभावकारी बनाउन र ती दुवै घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *