यातायात कार्यालयबाट रोक्का हुने भयो जरिवाना नतिर्ने दुई लाख ६१ हजार चालकको सेवा

डिसी नेपाल
२५ असार २०८३ १३:३५

काठमाडाैं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेर लामो समयसम्म जरिवाना बापतको रकम राज्यकोषमा दाखिला नगर्ने चालकहरू अब यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरूबाट वञ्चित हुने भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी जरिवाना नतिर्ने सवारीचालकको संख्या दुई लाख ६१ हजारभन्दा बढी रहेको छ।

लामो समय बितिसक्दा पनि जरिवाना रकम भुक्तान नगरेपछि ट्राफिक प्रहरीले त्यस्ता चालकहरूको विवरण यातायात व्यवस्था कार्यालयमा पठाएको छ। उक्त विवरणका आधारमा सेवा रोक्का गर्ने प्रक्रिया समेत अगाडि बढिसकेको छ।

जरिवाना भुक्तानी नगर्ने चालकहरूले नयाँ सवारीसाधन खरिद गर्न, सवारीसाधन नामसारी अर्थात् खरिद-बिक्री गर्न, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न तथा यातायात कार्यालयबाट उपलब्ध हुने अन्य कुनै पनि सेवा लिन पाउने छैनन्। प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार जरिवानावापतको सम्पूर्ण रकम पूर्ण रूपमा चुक्ता नगरेसम्म यी सेवाहरू पुनः सुचारु हुने छैनन्।

यातायात व्यवस्था कार्यालयले अबका दिनमा कुनै पनि नयाँ सेवा प्रवाह गर्नुअघि सम्बन्धित चालकले ट्राफिक जरिवाना बुझाएको स्पष्ट प्रमाण वा पुष्टि अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था मिलाएको छ।

यसका साथै, जरिवाना रकम बुझाउन बाँकी रहेका चालकहरूलाई सचेत गराउनका लागि मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कार्य समेत सुरु भइसकेको छ।

ट्राफिक प्रहरीले यो कडा कदम जरिवानावापतको रकम राज्यकोषमा सङ्कलन गर्ने अभियानलाई प्रभावकारी बनाउनका लागि चालेको जनाएको छ।

यस व्यवस्थाले जरिवाना नतिरी उम्किने प्रवृत्तिलाई निरुत्साहित गर्ने, ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास गर्ने र सडक अनुशासन कायम राख्न ठूलो मद्दत पुग्ने विश्वास प्रवक्ता सुवेदीले व्यक्त गरेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण चालकहरूलाई सडक अनुशासनको पूर्ण पालना गर्न र सवारी नियमको कदर गर्न आग्रह समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *