त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवकको अवस्था गम्भीर
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटअगाडि आज एक युवकले आत्मदाहको प्रयास गरेका छन्। २५ वर्षीय गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्दा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। घटनालगत्तै उद्धार गरी अस्पताल पुर्याइएका नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले जनाएका छन्।
उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार बिरामीको अनुहार, घाँटी, छाती तथा दुवै हात र खुट्टामा गम्भीर जलन भएको छ। ‘उहाँको अवस्था निकै गम्भीर छ। अहिले आकस्मिक उपचारका सबै प्रक्रिया पूरा गरेर सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी गरिरहेका छौँ,’ डा. दाहालले भने।
उनका अनुसार बिरामीले हाल सामान्य रूपमा बोल्न सके पनि स्वास्थ्य अवस्था अझै सङ्कटपूर्ण छ। शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या र शरीरमा तरल पदार्थको कमी हुने जस्ता जोखिम उच्च रहने भएकाले आउँदो २४ देखि ७२ घण्टाको समय अत्यन्त संवेदनशील मानिएको छ।






डिसी नेपाल





Facebook Comment