जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
फ्रान्कफर्ट । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसकेका छन् । तर उनले अझै स्थायी जागिर पाउन सकेका छैनन् ।
स्वायत्त तथा बौद्धिक ड्राइभिङ प्रणालीका लागि महत्वपूर्ण मानिने ‘कम्प्युटर भिजन’ प्रविधिमा दक्ष पेलले कुनै समय जर्मनीका ठूला औद्योगिक कम्पनीमा सहजै अवसर पाउने अपेक्षा गरेका थिए । तर युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा देखिएको सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाले अहिले युवा इन्जिनियरहरूको रोजगारी अवसरमा असर पारेको छ ।
“धेरैजसो अवस्थामा आवेदन सीधै अस्वीकार हुन्छ,” ३० वर्षीय पेलले एएफपीसँग भने, “मैले अहिलेसम्म एउटा मात्र अन्तर्वार्ता दिएको छु । मेरा साथीहरूको अवस्था पनि यस्तै छ । एकजनाले त ६० भन्दा बढी आवेदन पठाइसकेका छन् ।”
अत्याधुनिक प्रविधि र नवीन डिजाइनका लागि विश्वभर परिचित जर्मनीको कार उद्योग, जुन ठूलो मात्रामा निर्यातमा निर्भर छ, पछिल्ला वर्षमा कठिन अवस्थाबाट गुज्रिरहेको छ ।
चिनियाँ कार निर्माता कम्पनी बीवाइडी र एक्सपेङले विश्वकै ठूलो अटो बजारमा जर्मन कम्पनीहरूको बजार हिस्सा घटाउँदै लगेपछि जर्मन उत्पादकहरू स्वदेशमै पुनःसंरचनामा जुटेका छन् ।
कोलोनस्थित आइडब्ल्यू आर्थिक संस्थानका यातायात अर्थशास्त्री थोमस पल्सका अनुसार जर्मनीमा सवारी उत्पादन उल्लेखनीय रूपमा घटेको छ।
“दश वर्षअघि हामी वार्षिक करिब ६० लाख सवारीसाधन उत्पादन गर्थ्यौँ । अहिले यो सङ्ख्या ४० देखि ४२ लाखको हाराहारीमा स्थिर छ,” उनले भने, “अन्य युरोपेली देशको तुलनामा अवस्था राम्रो भए पनि पुरानो ‘स्वर्ण युग’ अब फर्किने छैन ।”
यसको संकेतस्वरूप फक्सवागनका कारखानाका कामदारले हालै देशभर विरोध प्रदर्शन गरेका छन् । कम्पनीले करिब एक लाख रोजगारी कटौती गर्ने योजना बनाइरहेको समाचार सार्वजनिक भएपछि विरोध भएको हो ।
सङ्घीय रोजगार एजेन्सी (एफइए)का अनुसार सन् २०२५ सम्मको पाँच वर्षमा जर्मनीमा समग्र रोजगारी केही बढे पनि अटोमोटिभ क्षेत्रमा भने रोजगारी आठ प्रतिशतले घटेको छ ।
चीनबाट बढ्दो दबाब
जर्मन उद्योग अहिले चीनबाट आएको उच्च प्रविधियुक्त प्रतिस्पर्धाको दबाब झेलिरहेको छ । कम लागतका उत्पादनबाट अघि बढेर उच्च प्रविधिका उत्पादनमा केन्द्रित चिनियाँ कम्पनीहरूले जर्मनीको परम्परागत निर्यात बजारमा चुनौती थपिरहेका छन् ।
गत वर्ष जर्मनीको कुल निर्यात १.५६ ट्रिलियन युरो पुगे पनि यो सन् २०२२ को उच्च बिन्दुभन्दा करिब दुई प्रतिशत कम हो । त्यस्तै, चीनतर्फको निर्यात करिब एक चौथाइ घटेर ८१.३ अर्ब युरोमा सीमित भएको तथ्याङ्क कार्यालय डेस्टाटिसले जनाएको छ ।
युवा इन्जिनियरका लागि बढ्दो चुनौती
टायर निर्माता तथा औद्योगिक आपूर्तिकर्ता कन्टिनेन्टलको अटोमोटिभ व्यवसायमा तालिम पूरा गरेका पेलका अनुसार कम्पनीमा भइरहेको पुनःसंरचनाले नयाँ रोजगारीका अवसर घटाएको छ ।
“मैले काम सुरु गर्दादेखि नै कम्पनीका विभिन्न भाग पुनःसंरचना भइरहेका थिए,” उनले भने, “अनुभवी सहकर्मीहरू बाहिरिँदै गरेको देख्दा नयाँ व्यक्तिका लागि अवसर कम हुने महसुस हुन्थ्यो ।”
जर्मनीको आरडब्ल्यूटीएच आचेन विश्वविद्यालयकी करियर सेवा प्रमुख आन्जा रोबर्टका अनुसार उत्कृष्ट विद्यार्थीहरूले समेत अहिले जागिर पाउन लामो समय कुर्नुपर्ने अवस्था आएको छ ।
“विद्यार्थीहरू भन्छन्, मैले ३० वटा आवेदन दिएँ तर कुनै प्रतिक्रिया आएन । आखिर समस्या के हो ?” उनले भनिन्, “अब बीएमडब्ल्यूजस्ता कम्पनीमा आवेदन दिँदैमा जागिर सुनिश्चित हुँदैन ।”
एफइएका अनुसार गत वर्ष योग्य इन्जिनियरहरूको बेरोजगारी दर ३.८ प्रतिशत पुगेको थियो, जुन सन् २०२२ को तुलनामा करिब ५० प्रतिशत बढी हो ।
यद्यपि केही इन्जिनियरले अवसर पाउन सफल भएका छन् । इलेक्ट्रिकल इन्जिनियर लुका लिन्सेनले महिनौँको खोजीपछि यसै महिना ह्याम्बर्गमा सफ्टवेयर परामर्शदाताका रूपमा काम सुरु गरेका छन् ।
उनले भने, “इन्जिनियरिङ अध्ययन गर्दा डिग्री पूरा हुनुअघि नै जागिर सुनिश्चित हुन्छ भन्ने विश्वास दिलाइएको थियो । यदि इन्जिनियरिङ पढ्ने हो भने प्रविधिप्रतिको रुचिका कारण पढ्नुहोस् । केवल राम्रो आम्दानी वा जागिरको सुनिश्चितताका लागि मात्र यो क्षेत्र रोज्नु उचित हुँदैन ।”






डिसी नेपाल





Facebook Comment