इजरायलमा सुसारेका रूपमा काम गर्न ८३६ नेपाली कामदार छनोट

थप २१ सय रोजगारीको अवसर खुल्ने

डिसी नेपाल
३२ असार २०८३ १७:४७

काठमाडाैं। नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तव्य मानिएको इजरायलमा सुसारे (केयरगिभर) का रूपमा काम गर्न निकट भविष्यमै ८ सय ३६ जना नेपालीहरू त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले आज काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी पहिलो चरणमा जाने कामदारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि र सञ्चारकर्मीहरूको प्रत्यक्ष उपस्थितिमा श्रव्यदृश्य माध्यमबाट चिट्ठा प्रणाली (लक्की ड्र) अपनाएर यी कामदारहरूको छनोट गरिएको हो।

इजरायली दूतावासले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार यस पारदर्शी चिट्ठा प्रक्रियामा कुल १ हजार ११५ जना योग्य उम्मेदवारहरूलाई सहभागी गराइएको थियो।

जसमध्ये गोलाप्रथाबाट ७ सय ८४ जना पुरुष र ३ सय ३१ जना महिला कामदारहरू इजरायल जानका लागि छानिएका छन्। यो छनोट प्रक्रियाले सरकारी स्तरबाटै (जीटूजी मोडल) कामदार पठाउने प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाएको छ।

उक्त छनोट कार्यक्रममा बोल्दै इजरायली राजदूत श्मुलिक एरीबासले नेपाली कामदारहरूका लागि सुखद खबर सुनाए। उनका अनुसार इजरायलको सेवाशुश्रूषा क्षेत्रमा निकट भविष्यमै थप २ हजार १०० भन्दा बढी नेपालीहरूका लागि रोजगारीका नयाँ अवसरहरू खुला हुने तयारी भइरहेको छ।

यसका साथै दुई देशबीच भएको ‘घरमा आधारित स्याहार सेवा’ र ‘कृषि श्रमिक’ सम्बन्धी द्विपक्षीय सम्झौताहरू द्रुत गतिमा कार्यान्वयनको अन्तिम चरणमा पुगिसकेको उनले प्रस्ट पारे।

नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार त्यहाँ जाने नेपाली कामदारहरूले इजरायली श्रम कानुनबमोजिम स्थानीय कामदार सरह नै न्यूनतम पारिश्रमिक, बिदा तथा अन्य सेवासुविधाहरू पूर्ण रूपमा पाउने ग्यारेन्टी गरिएको छ।

यसले नेपाली श्रमिकहरूको श्रम अधिकार सुरक्षित गर्ने विश्वास लिइएको छ। दुई देशबीचको श्रम सहकार्यलाई थप बलियो बनाउने दिशामा यो छनोट प्रक्रियालाई एउटा महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ भने दुवै पक्षले आगामी दिनमा पनि भर्ना प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र सन्तुलित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *