आँखा अस्पतालमा बिरामीको चाप बढ्यो

डिसी नेपाल
३ साउन २०८३ ८:२६

जनकपुरधाम। अत्यधिक गर्मी र तापक्रममा भएको वृद्धिसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। अस्पतालका अनुसार पछिल्ला दिनहरूमा दैनिक ४०० देखि ५०० जना बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्, जबकि यसअघि दैनिक औसत ३०० जना सेवाग्राही मात्र आउने गरेका थिए।

अस्पतालका निर्देशक डा. आशीष बोहराले तापक्रम वृद्धि, धुलोधुवाँ तथा वातावरणीय प्रभावका कारण आँखासम्बन्धी विभिन्न समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको जानकारी दिए। उनका अनुसार अस्पतालमा आउनेमध्ये बालबालिका र वृद्धवृद्धाको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको छ। आँखा पोल्ने, रातो हुने, चिलाउने, एलर्जी, सङ्क्रमण तथा सुख्खापनजस्ता समस्या लिएर धेरै बिरामी उपचारका लागि आउने गरेका छन्।

जानकी आँखा अस्पतालमा मधेश प्रदेशका विभिन्न जिल्लासहित आसपासका क्षेत्रबाट पनि बिरामी आउने गरेका छन्। विशेषगरी सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका सेवाग्राही नियमित रूपमा उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। सीमावर्ती क्षेत्र भएकाले भारतको बिहार राज्यबाट समेत उल्लेख्य सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

बिरामीको चाप बढेसँगै अस्पतालले सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको जनाएको छ। चिकित्सकहरूले अत्यधिक घाममा बाहिर ननिस्कन, धुलोधुवाँबाट आँखाको सुरक्षा गर्न, सफा पानीले आँखा सफा राख्न तथा समस्या देखिएमा ढिला नगरी विशेषज्ञ चिकित्सकको परामर्श लिन सर्वसाधारणलाई आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *