विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख ७१ हजार क्षतिपूर्ति दिने
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) मा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसमेत समेटेर उक्त रकम स्वीकृत गरेको हो।
प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका-२ घुसेरीस्थित आमा समूहको भवनको छतमा खेल्ने क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा दुर्घटना भएको थियो।
स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ। प्राधिकरणले आफ्नै ‘दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७’ को विनियम ११ को उपनियम १ बमोजिम यो रकम भुक्तानी गर्न लागेको हो।
विद्युत् प्राधिकरणको विनियमावलीअनुसार दुई लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार खर्च विभागीय प्रमुखले, दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशकले, पाँच लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृतले र १० लाख रुपैयाँभन्दा बढीको रकम सञ्चालक समितिले स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको बताएका छन्।
मानिसको अंगभंग वा जीवनको तुलनामा जतिसुकै ठूलो रकम पनि कम हुने उल्लेख गर्दै उहाँले यो रकमले पीडा पूरै नमेटिए पनि जीवनयापनमा थोरै भए पनि राहत पुग्ने अपेक्षा व्यक्त गरे।
साथै मन्त्री श्रेष्ठले पछिल्ला दिनमा विद्युतीय दुर्घटनाबाट भइरहेको जनधनको क्षति डरलाग्दो रहेको भन्दै दुर्घटना न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज दुवै सचेत हुनुपर्नेमा जोड दिए।
उनले जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी गर्न, जीर्ण संरचना मर्मत गर्न र जनचेतनामूलक सूचना प्रवाहलाई तीव्रता दिन प्राधिकरणलाई निर्देशन दिएाक छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment