सेलेब्रेटीलाई प्रश्नः यस वर्षको दसैं खर्च कति?

डिसी नेपाल
१४ असोज २०७६ ७:४१

काठमाडौं। हिन्दुहरुको महान पर्व दसैं भित्रिसकेको छ। दसैं भन्नासाथ राम्रो लगाउने, मिठो मसिनो खाने र रमाइलोसँग मनाउने पर्व भन्ने आम मानिसको धारणा हुन्छ।

यो विषयले कलाकारसँग पनि अर्थ राख्ने गर्दछ। दसैंमा आम सर्वसाधारणको जस्तै कलाकारको पनि खर्चको आँकडा केही बढ्छ। हामीले यही प्रसंगमा रहेर केही कलाकारहरुलाई दसैं विशेष खर्च योजना बारे प्रश्न गरेका छौंः

सिताराम कट्टेल (कलाकार तथा सामाजिक अभियन्ता)

दसैंलाई यति नै भनेर खर्च छुट्टयाउने गरेको छैन। हरेक वर्ष महङ्गी बढिरहेको छ, त्यसैले छुटयाएको खर्चले पुग्ने अवस्था पनि हुदैन। फेरि अहिले पहिलेजस्तो नयाँ लुगा किन्न दसैं नै कुर्नुपर्छ, मिठो मसिनो खान दसैं नै कुर्नुपर्छ भन्ने पनि छैन। खर्च हुने भनेको खाद्यान्न, मरमसला, दक्षिणामा हो। हामी सर्वसाधारणले जस्तै साधारण तरिकाले दसैं मनाउँछौं। तर, ठ्याकै यति खर्च हुन्छ भनेर भन्न सक्दिन।

करिष्मा मानन्धर (अभिनेत्री)

मेरो घरमा अष्टमीको दिन सामुहिक भोज गर्दै आएकी छु। यसवर्ष त्यो दसैंपछाडि पनि हुनसक्छ। म आफूलाई भनेर दसैंमा त्यस्तो केही किन्दिन। स्टाफहरुलाई सपिङ गरिदिँदै आएकी थिए। यसवर्ष म आफू नभ्याएर स्टाफहरुलाई नै सपिङका लागि खर्च दिएँ। खाद्यान्न, मरमसला, दक्षिणामा खर्च हुन्छ नै तर, ठ्याक्कै यति नै खर्च हुन्छ भनेर भन्न सक्दिन्।

पशुपति शर्मा (गायक)

म सामान्य खर्चमा दसैं मनाउँदै आएको छु। आधारभूत आवश्यकताहरु के छ त्यसमा मात्र खर्च गर्छु। म मेरो लागि भनेर दसैंमा सपिङ गर्दिन्। परिवारका लागि कपडाहरु किन्छु। खनपानमा खर्च हुने भइहाल्यो, त्यसबाहेक दक्षिणामा खर्च हुन्छ। समग्रमा ४०–५० हजारले दसैं खर्च पुग्छ जस्तो लाग्छ।

पुष्प खड्का (अभिनेता)

यस वर्षको दसैं अलि खर्चिलो होला जस्तो छ। आमा बुबा भारतको पुनामा हुनुहुन्छ तर, हाम्रो घर कैलालीमा भने कोही पनि हुनुहुन्न। त्यसैले यसवर्ष बहिनी र म दसैं मनाउन पुना जाने योजनामा छौं।

खर्चको कुरा गर्दा करिव १ लाखको अनुमान गरेको छु। यो तलमाथी त भइनै हाल्छ। हवाई भाडा, परिवारलाई किनमेल र घुमघाम गर्दा त्यो खर्चले पनि नपुग्ने हो कि!

शंकर बिसी (मोडल तथा नृत्य निर्देशक)

दसैंका लागि यो वर्ष नेपालगञ्ज घर जादै छु, त्यो पनि तीन वर्ष पछि। त्यसैल्र यसवर्षको दसै मेरा लागि बढी विशेष छ।
दसैंको लागि यति नै भनेर खर्च छुट्याएको त छैन्।

तर, २ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छु। आफूलाई किनमेल गर्नु नपरेपनि परिवारका लागि गर्नुपर्ने हुन्छु। किनमेल, घर जाँदा–आउँदाको खर्च, पाहुना–साथीभाइसँगको खानपान, दक्षिणा गरि त्यति त पक्कै खर्च हुनेछ।

सम्झना भण्डारी (गायिका)

दसैंको समयमा खर्च गर्नै पर्छ भन्ने मान्यता मेरो छैन्। त्यसैले यति खर्च भनेर छुट्याएकै छैन। दसैंमा आफ्नो लागि भनेर किनमेल गर्ने बानी पनि छैन। परिवारका लागि केही खर्च हुने हो। यस पटक पनि दसैं खर्च भनेर केही रकम घर पठाइसकेकी छु। अब, यति नै भनेर नछुटयाएपनि ५० हजार जति त खर्च होला कि !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *