सुनसरीमा कर्फ्यु आदेश यथावत, अर्को सूचना नभएसम्म लागू रहने

डिसी नेपाल
१३ साउन २०८३ ८:३०

काठमाडौं । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश अर्को सूचना जारी नभएसम्मका लागि यथावत रहने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यराति सूचना जारी गर्दै जिल्लाको सुरक्षा अवस्था सामान्य नभएकाले कर्फ्यु आदेशलाई निरन्तरता दिइएको जनाएको हो।

प्रशासनका अनुसार हाल इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा भोक्राहा नरसिंह गाउँपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यु लागू रहेको छ।

इटहरी उपमहानगरपालिकाको वडा नं. १६ र १७ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको छ। त्यसैगरी रामधुनी नगरपालिकाको वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र पनि कर्फ्युको दायरामा राखिएको छ।

यस्तै, इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र, दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यु आदेश कायम रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ। साथै, सुरक्षा निकायलाई शान्ति–सुरक्षा कायम राख्न उच्च सतर्कतामा परिचालन गरिएको जनाइएको छ।

प्रशासनले जिल्लाको समग्र सुरक्षा अवस्थाको निरन्तर समीक्षा भइरहेको उल्लेख गर्दै परिस्थितिमा सुधार आएपछि आवश्यक निर्णय गरिने जनाएको छ। हालका लागि अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश यथावत रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *