चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

डिसी नेपाल
१३ साउन २०८३ १४:५५

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य संस्थामाथिको तोडफोड र बिरामीमाथि हुन सक्ने लापरबाही दुवैलाई समान गम्भीरताका साथ लिँदै स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धि गर्न मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति लिँदै आवश्यक पहलकदमीलाई तीव्रता दिएको जनाएको छ।

नारायणी अस्पतालमा भएको पछिल्लो अप्रिय घटनालाई केवल कानुनी कारबाहीमा मात्र सीमित नराखी भविष्यमा यस्ता घटना दोहोरिन नदिने उद्देश्यले मन्त्रालयले नीतिगत, कानुनी तथा संस्थागत सुधारका लागि सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

यसका लागि मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ मार्फत चरणबद्ध परामर्श जारी राखेको छ। कानुनी एवं नीतिगत सुधारका विषयमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लगायतका निकायहरूसँग व्यापक छलफल भइरहेको छ।

मन्त्रालयका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन भने बिरामीले गुणस्तरीय उपचार नपाएसम्म समग्र स्वास्थ्य प्रणालीप्रतिको विश्वास कायम रहन सक्दैन। त्यसैले स्वास्थ्यकर्मीमाथि हुने हिंसा र बिरामीमाथि हुन सक्ने लापरबाही दुवैलाई कानुनबमोजिम निष्पक्ष र प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्थालाई सुदृढ बनाइनेछ।

साथै, मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई समयसापेक्ष परिमार्जन गरिरहेको छ। सरोकारवालाहरूबाट प्राप्त सुझावका आधारमा कानुनी तथा नीतिगत सुधारलाई चाँडै अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *