वायुसेवा सञ्चालक संघद्वारा निम्सदाइसहित हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली, अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त
काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपालले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित अन्य आरोहीहरूको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनालाई नेपालको पर्वतारोहण क्षेत्रका लागि एक अपूरणीय क्षति भएको उल्लेख गरेको छ। संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा साहसी आरोहीहरूको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध र मर्माहत बनाएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “साहसी आरोही निर्मल पुर्जासहित सम्पूर्ण आरोहीहरूको असामयिक निधनले हामी सबैलाई अत्यन्त मर्माहत तुल्याएको छ। उहाँहरूले विश्व पर्वतारोहण क्षेत्रमा पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ।” संघले स्वर्गीय आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ।
विज्ञप्तिमा निर्मल पुर्जाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतारोहण, साहसिक पर्यटन तथा हिमालको पहिचानलाई नयाँ उचाइमा पुर्याउन खेलेको अहम् भूमिकाको उच्च मूल्यांकन गरिएको छ। उहाँको असाधारण योगदान र साहसिक यात्राले भावी पुस्ताका पर्वतारोहीलाई सधैँ निरन्तर प्रेरणा दिने विश्वास पनि संघले व्यक्त गरेको छ।
पाकिस्तानको कराकोरम शृङ्खलामा अवस्थित ब्रोड पिक क्षेत्रमा गएको भीषण हिमपहिरोमा परी निर्मल पुर्जासहित विभिन्न देशका अनुभवी आरोहीहरूको निधन भएको पुष्टि भएपछि नेपाल तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा अहिले गहिरो शोकको लहर छाएको छ। यस दुखद घडीमा विभिन्न सरकारी निकाय, निजी क्षेत्र, संघ–संस्था तथा ख्यातिप्राप्त व्यक्तित्वहरूले लगातार श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment