‘रगत लागेको जुत्ता’ देखि ‘चप्पल’सम्म: बालेनलाई राजनीति र विवादमा अल्झाउने रणनीतिक खेल

डिसी नेपाल
१७ साउन २०८३ ७:५१

काठमाडाैं। नेपाली राजनीतिको वर्तमान दृश्यपटमा सतहमा जे देखिइरहेको छ, पर्दापछाडिको खेल त्योभन्दा धेरै गुणा जटिल, सूक्ष्म र गहिरो छ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीति र  शक्तिशाली प्रधानमन्त्रीका रूपमा  उदाएका बालेन्द्र शाह (बालेन) लाई लक्षित गरी अहिले रचिएको राजनीतिक तथा भूराजनीतिक तानबाना केवल संयोग मात्र होइन, यो एक सुविचारित ‘इन्गेजमेन्ट एन्ड म्यानेजमेन्ट’ रणनीतिको जीवन्त अभ्यास हो।

नेपालको राजनीतिमा कुनै नयाँ, अनपेक्षित वा गैर-परम्परागत शक्ति राष्ट्रिय राजनीतिमा स्थापित हुन थाल्दा पुराना शक्ति केन्द्रहरूले अपनाउने पहिलो नीति त्यस शक्तिलाई नियन्त्रण वा आफ्नो अनुकूल बनाउनु हो।

यदि त्यो सम्भव भएन भने दोस्रो रणनीति उसलाई यस्ता आन्तरिक उल्झन, विवाद र द्वन्द्वमा अल्झाएर गराउनु हुन्छ, जसले गर्दा उसको मूल ध्यान, लोकप्रियता र रणनीतिक उचाइ बिस्तारै क्षयीकरण हुँदै जाओस्। अहिले मधेशमा विकसित घटनाक्रम र काठमाडौँको सत्ता राजनीतिमा बालेनलाई जसरी केन्द्रमा ल्याउन खोजिएको छ, त्यसलाई यही कोणबाट विश्लेषण गर्नु अनिवार्य बनेको छ।

अहिलेको घटनाक्रममा सबैभन्दा सनसनीपूर्ण र गम्भीर खुलासा राज्यको गुप्तचर निकायले प्रधानमन्त्री  बालेनलाई बुझाएको गोप्य प्रतिवेदनले गरेको छ। स्रोतका अनुसार, गुप्तचरले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा  तराइ मधेशकाे आन्दोलनमा पहिले कहिल्यै नदेखिएका, स्थानीय रूपमा नचिनिएका र अप्रत्याशित व्यक्तिहरूले अगाडि सरेर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको स्पष्ट उल्लेख छ।

मधेशमा धार्मिक-साम्प्रदायिक तनाव चर्काउने, प्रहरीमाथि कहिल्यै नदेखिएका मान्छे प्रयोग गरेर आक्रमण गराउने र त्यसपछि चर्किएको असन्तोषलाई नियाल्दा त्यहाँ मुख्यतया बालेनको छविमाथि नैतिक प्रश्न उठाउने दाउ देखिन्छ।

यो तथ्यले सिंगाे घटनाक्रम सामान्य जनआक्रोश मात्र नभएर एउटा रचित मुठभेड थियो भन्ने बलियो आधार दिन्छ। अब प्रश्न उठ्छ-अन्त्यमा ती कहिल्यै नदेखिएका पात्रहरू को हुन् त?  के उनीहरू आन्दोलनलाई हिंस्रक बनाएर स्थिति नियन्त्रणबाहिर लैजान कुनै अदृश्य शक्ति वा बाह्य हातबाट सञ्चालित ‘प्रोक्सी’ हुन्?

अथवा, के उनीहरू बालेन र मधेशी समुदायबीच कहिल्यै पुरिन नसक्ने अविश्वासको पर्खाल उभ्याउन र नयाँ राजनीतिक शक्तिलाई दमनकारी ठहर्‍याउन प्रयोग गरिएका भाडाका पात्र हुन्?

जब राज्य संयन्त्रलाई समेत थाहा नभएका अज्ञात अनुहारहरू एकाएक सडकमा ओर्लेर हिंसा भड्काउँछन्, त्यसको सोझो अर्थ हुन्छ-यो कुनै स्वाभाविक विद्रोह होइन, बालेनलाई फसाउन र आन्तरिक वातावरण धमिल्याउन रचिएको रणनीतिक डिजाइन हो।

बालेन शाह प्रधानमन्त्री सँगै नेपालको परम्परागत दलीय राजनीतिप्रति नागरिकमा रहेको चरम आक्रोश, नयाँ पुस्ताको आशा र  राष्ट्रिय नेतृत्वका रूपमा उभिएका पात्र हुन्। उनको यो तीव्र राजनीतिक उभारले आन्तरिक पुराना दलहरू र बाह्य कूटनीतिक शक्तिहरू दुवै वृत्तमा ठूलो हलचल पैदा गर्‍यो।

पुराना दलहरूकाे बालेनको बढ्दो प्रभावले आफ्नो राजनीतिक अस्तित्व नै संकटमा परेको छ भने बाह्य शक्तिहरूले नेपालमा सधैं नियन्त्रण गर्न सकिने वा आफ्नो ‘माइक्रो-म्यानेजमेन्ट’मा अटाउने नेतृत्व चाहन्छन्।

बालेनजस्ता अनपेक्षित र आफ्नो घेराभन्दा बाहिरका पात्रहरू राष्ट्रिय नेतृत्वमा स्थापित हुनु उनीहरूका लागि सधैं जोखिमको विषय बन्छ। यस्तो अवस्थामा बालेनलाई सिधै रोक्नुभन्दा उनलाई ‘सिस्टम’को खेलमा अल्झाउने वा विवादको चक्रव्यूहमा पारेर कमजोर बनाउने रणनीति सुरु हुन्छ।

बालेनको आधार क्षेत्र मूलतः काठमाडौं, सहरी मध्यमवर्ग र युवा पुस्ता हो। तर, नेपालको राष्ट्रिय राजनीतिमा स्थापित हुन र सरकार बनाउने उचाइ लिन मधेश र तराईको भूगोल, जनसङ्ख्या र राजनीतिक समर्थन निर्णायक हुन्छ। यहीँबाट सुरु हुन्छ बालेनलाई ‘इन्गेज’ गराउने खेल।

मधेशमा धार्मिक-साम्प्रदायिक तनाव चर्काउने, प्रहरीमाथि कहिल्यै नदेखिएका मान्छे प्रयोग गरेर आक्रमण गराउने र त्यसपछि चर्किएको असन्तोषलाई नियाल्दा त्यहाँ मुख्यतया बालेनको छविमाथि नैतिक प्रश्न उठाउने दाउ देखिन्छ।

हिजो सहरी युवाको विद्रोह (‘जेन-जी’ आन्दोलन र ‘रगत लागेको जुत्ता’) को जगमा उभिएर स्थापित हुन खोजेका बालेन वा उनीसँग जोडिएका नयाँ शक्तिहरूलाई मधेशमा घटेका हिंसात्मक घटनासँग जोडेर ‘रगत लागेको चप्पल’ को प्रति-भाष्य सिर्जना गरिँदैछ। यसको सोझो अर्थ बालेनलाई पनि अरू पुराना दमनकारी शासकहरूकै लहरमा उभ्याएर उनको नैतिक उचाइ गिराउनु हो।

भारतको परम्परागत कूटनीतिलाई हेर्दा, उसले नेपालका उदाउँदा वा प्रभावशाली नेताहरूलाई एकातिर ‘रेड कार्पेट’ बिछ्याएर भ्रमणमा बोलाउँछ, जहाँ शिष्टाचार, ठूला विकास आयोजना र सम्मानको प्रस्ताव गरिन्छ। यसले ती नेताहरूलाई आफू अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य भएको भ्रम वा सन्तुष्टि दिन्छ।

तर, ठीक त्यही समयमा तराई वा सीमावर्ती क्षेत्रमा नदेखिएका पात्रहरू पठाएर साम्प्रदायिक तनाव वा प्रशासनिक झडपहरू सिर्जना गराइन्छ। यसले गर्दा राष्ट्रिय विकास, नीतिगत सुधार वा दीर्घकालीन राजनीतिक योजनामा काम गर्नुको साटो बालेनजस्ता पात्रहरू दिनभर दैनिक उपद्रव, मधेशको तनाव, र सोसल मिडियाको स्पष्टीकरणमै अल्झिन बाध्य हुन्छन्, अनि आन्तरिक अशान्ति र बाह्य दबाबको चेपुवामा परेर सन्तुलन गुमाउन पुग्छन्।

राजनीतिमा लडाउने, झुकाउने र बाध्य पार्ने चक्रको केन्द्रमा अहिले बालेनलाई राखिएको देखिन्छ। काठमाडौं र मधेश, नयाँ पुस्ता र पुराना पुस्ता, अनि सहरी मध्यमवर्ग र तराईका भुइँमान्छेबीच अदृश्य मनोवैज्ञानिक पर्खाल खडा गरेर बालेनलाई केवल काठमाडौंको वा निश्चित वर्गको नेतामा सीमित गरिदिने प्रयास भइरहेको छ।

जब मधेशमा असन्तोष बढ्छ र काठमाडौंमा उनीमाथि नैतिक प्रश्न उठ्छन्, तब बालेनको जुन निर्भीक छवि थियो, त्यो बिस्तारै कमजोर हुन्छ र उनलाई निरन्तर रक्षात्मक स्थितिमा पुर्‍याइन्छ।

जब बालेन चौतर्फी विवाद, आन्तरिक लफडा र कूटनीतिक उल्झनमा जेलिन्छन्, तब उनी स्वयं पनि स्थापित प्रणाली वा बाह्य शक्तिहरूसँग सम्झौता गरेर अघि बढ्न बाध्य हुनेछन्। ‘सिस्टम’लाई भत्काउँछु भनेर आएका पात्रलाई ‘सिस्टम’कै शरणमा पर्न बाध्य पार्नु नै यो खेलको अन्तिम सफलता हो।

बालेन वा उनको टिमले गरिरहेको ठूलो रणनीतिक भुल के हो भने- उनीहरू साना समस्या, सुरुवाती असन्तोष वा प्रादेशिक/स्थानीय मुद्दाहरूलाई सोसल मिडियाको हल्ला मात्र हो वा विरोधीहरूको षड्यन्त्र हो भनेर टार्न खोज्छन्।

तर, राजनीतिमा साना समस्यालाई बेलैमा समाधान गरिएन र गुप्तचरले औंल्याएका ती ‘अज्ञात घुसपैठिया’हरूलाई समयमै नङ्ग्याउन सकिएन भने, तिनै साना समस्या र अज्ञात पात्रहरू पछि गएर विरोधी र बाह्य शक्तिहरूका लागि रणनीतिक औजार बनिदिन्छन्।

अन्ततः, गुप्तचरको रिपोर्टमा देखिएका ती ‘अज्ञात अनुहारहरू’, मधेशमा देखिएका हिंसात्मक घटनाक्रम, र दिल्लीको दोहोरो कूटनीतिक व्यवहारको एउटै मुख्य ध्येय बालेन शाहलाई काठमाडौंको प्रशासनिक घेरा र मधेशको विवादित राजनीतिभन्दा माथि उठ्न नदिनु र उनलाई निरन्तर ‘अग्निपरीक्षा’ र ‘लफडा’मा इन्गेज गराइराख्नु हो।

यदि बालेनले यो गुप्तचर प्रतिवेदनको अन्तर्य, रणनीतिक तानबाना र कूटनीतिक चक्रव्यूहलाई समयमै बुझ्न सकेनन् भने, उनी पनि नेपालको इतिहासमा आएका अन्य धेरै लोकप्रिय तर ‘अन्ततः अल्झिएर समाप्त भएका’ नेताहरूको सूचीमा दर्ता हुनेछन्।

‘रगत लागेको जुत्ता’को उचाइबाट सुरु भएको यात्रालाई ‘रगत लागेको चप्पल’को दलदलमा डुब्न नदिन बालेनले पपुलिजम र काठमाडौंको अहम्‌बाट माथि उठेर समग्र देश, खास गरी मधेश र भुइँमान्छेका समस्यालाई गम्भीर राजनीतिक परिपक्वताका साथ सम्बोधन गर्नैपर्छ। नत्र, उनी सम्झौता गर्न बाध्य पारिनेछन्, र पर्दापछाडि आन्दोलन भड्काउने ती ‘अज्ञात अनुहारहरू’का मालिकहरू मुस्कुराइरहनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *