आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा

डिसी नेपाल
१७ साउन २०८३ २०:३३

भद्रपुर (झापा)। जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटारूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।

‘आवश्यक कागजात बिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा कारबाहीमा परेका सिटी सफारी र अटोको विवरण आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार अपरेसनका क्रममा २८५ सिटी सफारी र ७३ वटा अटो गरी ३५८ वटा सवारीसाधन चेकजाँच गरिएको थियो। तीमध्ये आवश्यक कागजात नबोकी चलाइएका १६८ वटा अटो तथा सिटी सफारीलाई नियन्त्रणमा लिई कारबाही गरिएको उनले जानकारी दिए।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाही गर्दा रु दुई लाख १० हजार राजस्व सङ्कलन भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए। यस्तै, चेकिङका क्रममा तत्काल आवश्यक कागजात पेस गर्न नसकेका २७ वटा सवारीसाधनलाई भने प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान तथा प्रक्रिया अगाडि बढाइएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *