जुटखेती खुम्चिँदै, पूर्वीनाकाबाट मात्रै झन्डै पाँच अर्बको कच्चा जुट आयात

डिसी नेपाल
२० साउन २०८३ ९:०१

भद्रपुर (झापा)। कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन हुने जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। पूर्वी नेपाल जुट उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित थियो भने स्वदेशी उद्योगहरू पनि स्थानीय उत्पादनमै निर्भर थिए। तर पछिल्ला वर्षहरूमा अवस्था पूर्ण रूपमा बदलिएको छ। किसानले जुटखेती छाड्दै गएपछि स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्ने अवस्था सिर्जना भएको छ, जसका कारण नेपालले अहिले भारत र बङ्गलादेशबाट ठूलो परिमाणमा कच्चा जुट आयात गर्न बाध्य भएको छ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा पूर्वीनाका काँकरभिट्टाबाट मात्रै चार अर्ब ९१ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ३४ करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको कच्चा जुट आयात भएको थियो। यसरी एक वर्षको अवधिमा मात्रै कच्चा जुटको आयात करिब ५७ करोड ५४ लाख रुपैयाँ अर्थात् १३.२५ प्रतिशतले वृद्धि भएको देखिन्छ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवराम न्यौपानेका अनुसार मूल्यका आधारमा काँकरभिट्टा नाकाबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा रहेको छ। पछिल्ला केही वर्षदेखि पूर्वीनाकाबाट कच्चा जुटको आयात निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको उनले बताए।

सरकारी अभिलेखअनुसार २०४३/४४ सालदेखि झापा, मोरङ र सुनसरीमा व्यावसायिक रूपमा जुटखेती विस्तार भएको थियो। त्यसबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनमा आएको गिरावटका कारण उद्योग सञ्चालनका लागि त्यही देशहरूबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था बनेको छ।

कृषि क्षेत्रका अधिकारीहरूका अनुसार जुटखेती घट्दै जानुको मुख्य कारण उत्पादन लागत निरन्तर बढ्नु र किसानले उत्पादनको उचित मूल्य नपाउनु हो। खेतीमा लगानी बढ्दै जाँदा आम्दानी अपेक्षाअनुसार नहुने भएकाले धेरै किसानले जुटखेती छाडेर धानलगायत अन्य नगदे तथा खाद्यान्न बालीतर्फ आकर्षित हुन थालेका छन्।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा अहिले जुटखेती खुम्चिएर करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ। लागत धेरै र प्रतिफल कम भएकाले किसान जुटखेतीबाट विमुख हुँदै गएको र पछिल्ला केही वर्षयता उत्पादनमा उल्लेखनीय गिरावट आएको उनले बताए।

स्वदेशमा जुट उत्पादन घट्दै जाँदा आयातमा निर्भरता बढेको छ भने यसले विदेशी मुद्रा बाहिरिने क्रमलाई पनि तीव्र बनाएको छ। कृषकलाई उचित मूल्य, उत्पादनमा प्रोत्साहन तथा आधुनिक खेती प्रविधिको विस्तार गर्न नसकिए आगामी वर्षहरूमा कच्चा जुटको आयात अझ बढ्ने र स्वदेशी जुट उद्योगको दीर्घकालीन स्थायित्वमा समेत चुनौती थपिने सरोकारवालाहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *