ऐतिहासिक महत्त्व बोकेको दियालो बंगला दरबार संग्रालय

भूमिका गैरे तिमिल्सिना
२३ साउन २०८३ ७:५१

दियालो बंगला दरबार संग्रालय अवलोकनका लागि हामी २०८३ साल असार २८ गते आइतबार श्रीमान् विश्वनाथ तिमिल्सिना र म (लेखक स्वयं) दिनको १:०० बजे स्कुटरमा निस्क्यौँ।

‘दियालो’ शब्दको अर्थ उज्यालो अथवा दीपको प्रकाशसँग सम्बन्धित छ। त्यसैलाई आधार मानेर यस दरबारको नाम ‘दियालो बंगला’ राखिएको हो भन्ने अनुमान गर्न सकिन्छ।

चितवन जिल्लाको नारायणगढ बजारबाट करिब दुई किलोमिटर नजिक देवघाट जाने बाटो (आँपटारी चोक) बाट केही वर नवनिर्मित दियालो बंगला जाने मूल ढोका (गेट) रहेको छ।

गेटबाट भित्र प्रवेश गरेपछि टिकट घर र स्टोन पार्क (ढुंगे उद्यान) आउँछ। ठाउँ-ठाउँमा सर्वसाधारणका लागि बस्न फलामका बेन्चहरू राखिएका छन्। बाटोका छेउमा ढकमक्क फुलेका फूलका बिरुवाहरू, मनोरम पार्क, हेलिप्याड र फुटबल खेल्नका लागि ठूलो खेलमैदान फैलिएको छ।

पवित्र नारायणी नदीको समीप सेतो रङले सजिएको यो ऐतिहासिक दियालो बंगला दरबार धार्मिक पर्यटकीय क्षेत्र देवघाटसँग जोडिएकाले पनि तत्कालीन राजपरिवारले धार्मिक स्नान गर्न तथा जंगली जनावरहरूको सिकार गर्ने उद्देश्यले निर्माण गराएको भनाइ छ।

चितवनको भरतपुर-१, आँपटारीमा स्थित यो दियालो बंगला दरबार राजा महेन्द्रले निर्माण गराएका हुन्। तत्कालीन समयमा यहाँ राजपरिवारका सदस्यहरू र निश्चित सरकारी कर्मचारीहरूलाई मात्र प्रवेश तथा रहने व्यवस्था थियो।

विशेष गरी हिउँदको जाडो छल्न र सिकार खेल्नका लागि राजा र राजपरिवारका सदस्यहरू यस दरबारमा आउने गर्दथे। नारायणी नदी किनारमा अवस्थित दियालो बंगला दरबार सानो तर असाध्यै चिटिक्क परेको छ।

उक्त दरबारको भुइँतलामा एउटा ठूलो बैठक कोठा रहेको छ, जसमा पूर्वराजा महेन्द्र, रानी रत्नराज्यलक्ष्मी, पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्याका ठूला-ठूला तस्बिरहरू सजाइएका छन्। भर्‍याङमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही राखिएको छ भने भित्तामा बाघको टाउको जस्ताको तस्तै सजाइएको छ।

यसको कुल क्षेत्रफल ५७ बिघा, १३ कठ्ठा र ७ धुर रहेको छ। यो बंगलामा सबैभन्दा बढी समय बिताउने राजा महेन्द्र नै थिए। तत्कालीन समयमा राजा महेन्द्रले वि.सं. २०१९ देखि २०२६ सम्म लगाएर यो बंगला निर्माण गराएका थिए।

निर्माण सम्पन्न भएको दुई वर्षपछि अर्थात् वि.सं. २०२८ साल माघ १६ गते राजा महेन्द्रको सोही दरबारमा हृदयघातका कारण निधन भएको थियो। सिकारका सौखिन राजा महेन्द्र २०२८ साल माघ ३ गते यस बंगलामा एक महिनाका लागि विश्राम गर्न आएका थिए, तर दुर्भाग्यवश माघ १६ गते राति ११ बजे उनको देहावसान भयो।

त्यसपछि राजा वीरेन्द्र आफ्ना पिता राजा महेन्द्रको वार्षिक तिथि पारेर यहाँ आउने गर्दथे। राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मदिन पनि यसै बंगलामा मनाएका थिए। त्यही समयमा रानी ऐश्वर्याको घुमाउरो भर्‍याङमा गोडा चिप्लिएर मर्केकाले राजा वीरेन्द्रले तत्काल अर्को नयाँ भर्‍याङ बनाउन लगाएका थिए।

राजपरिवारका पर्सनल डाक्टर र सुसारेहरू सँगै रहने गर्दथे। राजपरिवारका लागि भोजन आगोमै पकाएर खुवाउने गरिएको कुरा वि.सं. २०५७ देखि राजप्रासाद सेवा (हाल निजामती सेवा) मा कार्यरत दानबहादुर ढकालमार्फत जानकारी भयो।

दियालो बंगला दरबारमा राजपरिवारले प्रयोग गरेका विविध सामग्रीहरू र सिकार गरिएका वन्यजन्तुका छाला लगायतका बहुमूल्य वस्तुहरू सजाइएको छ। दरबारको छेउमा महिलाहरूका लागि ‘नानीगञ्ज’ र सुरक्षाका लागि गार्ड तथा एडीसी क्वाटर छ।

मूल दरबारभित्र व्यवस्थित बैठक कक्ष, राजाले प्रयोग गरेका पलङ, बेड, ओछ्यान, भान्सा, डायनिङ, घरायसी सामग्रीहरू र सिकारमा प्रयोग हुने बन्दुक लगायतका विभिन्न वस्तुहरू राखिएका छन्।

पर्यटन वर्ष (भ्रमण वर्ष) सन् २०२४ लाई लक्षित गरी नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बंगला दरबार संग्रालयलाई २०८१ साल असार २३ गते आइतबारदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको हो।

दरबारभित्र पाँचवटा मुख्य खोपी (शयनकक्ष) हरू रहेका छन्। १ नम्बर खोपी मुमा बडा महारानी रत्नराज्यलक्ष्मीको हो भने २ नम्बर खोपी राजा महेन्द्रको हो।

त्यसैगरी ३ नम्बर रानीको र ४ तथा ५ नम्बरका खोपीहरू राजपरिवारका अन्य सदस्यहरूका लागि तोकिएका थिए। सबै खोपीहरूसँग जोडिएका आधुनिक शौचालयहरू पनि रहेका छन्। सवारी साधन राख्नका लागि ग्यारेज छ भने त्यसको उत्तरतर्फ पौडी खेल्नका लागि पौडी पोखरी (स्वीमिङ पुल) रहेको छ।

सुरक्षाका दृष्टिकोणले चारैतिर सीसीटीभी क्यामेराहरू जडान गरिएकाले यो क्षेत्र पूर्णतः सुरक्षित छ। दरबारको वरिपरि घना जङ्गल, हरियाली र ठूला-ठूला रुख-बिरुवाहरू देख्न सकिन्छ।

यहाँको सुनसान र प्रकृतिको अलौकिक दृश्यले जोकसैको मन लोभ्याउँछ। यहाँ बाघ, चितुवा, मृग र जङ्गली हात्तीजस्ता जनावरहरू देखिने गरेको जानकारी पाइयो। अति नै शान्त, सुन्दर एवम् एकान्त वातावरणमा रहेको यो दरबारको सुरक्षा नेपाली सेनाले गरिरहेको छ।

चितवन देशको मध्यभागमा परेकाले पनि राजा महेन्द्रले यही ठाउँमा दियालो बंगला निर्माण गराएका थिए। ढकालका अनुसार यहाँ पहिले मानव बस्ती थियो, उक्त बस्तीलाई अन्यत्र स्थानान्तरण गरी राजा महेन्द्रले पूर्व-पश्चिम यात्राका क्रममा सहजताका लागि यो बंगला बनाएका थिए र यात्राका क्रममा यहीँ विश्राम गर्दथे। दरबारको दक्षिणतर्फ हिउँदको जाडोमा राजाहरूले आगो ताप्ने विशेष ठाउँ (फायर प्लेस) पनि बनाइएको छ।

उत्तरतर्फ स्वीमिङ पुल रहेको छ, जसलाई बाहिरबाट छेक्न अग्लो पर्खालीसमेत लगाइएको छ। अत्यन्त मनमोहक नदी तटीय क्षेत्र, जलपर्यटनका क्रियाकलापहरू, साल, जामुन, सिन्दुरे, सिसौ जस्ता रुखहरूको हरियाली र विभिन्न प्रजातिका चराचुरुंगीका साथै राजाहरूले प्रयोग गरेका ऐतिहासिक सामग्रीहरू आज मुख्य आकर्षणका केन्द्र बनेका छन्।

यो दरबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू, विद्यार्थीहरू र शोधकर्ताहरूका लागि अध्ययन तथा अनुसन्धानको महत्त्वपूर्ण थलो बन्न सक्ने देखिन्छ। दरबार अवलोकनका लागि बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्मको समय निर्धारण गरिएको रहेछ।

दियालो बंगला दरबार ऐतिहासिक महत्त्व बोकेको उत्कृष्ट पर्यटकीय गन्तव्य हो। विभिन्न संघ-संस्था तथा विद्यार्थीहरूले यहाँ आएर प्रत्यक्ष अध्ययन र अवलोकन गर्न सक्छन्। राजा-महाराजाहरूको चालचलन, रहनसहन, गतिविधि र जीवनशैली के-कस्तो रहेछ भन्ने कुरा बुझ्न र इतिहास चिन्नका लागि यो एउटा गतिलो अवसर हो।

दरबारको प्रवेश टिकटबाट संकलन भएको कुल रकमको ५० प्रतिशत नेपाल ट्रस्टलाई जाने र बाँकी ५० प्रतिशत भरतपुर महानगरपालिकाले लिने सम्झौता भएको रहेछ।

प्रकृतिको अपार सुन्दरता, शान्त वातावरण, मनोरम दृश्य, हरियाली, अनेकौं प्रजातिका चराचुरुंगी, रुख-बिरुवा र सैनिक इलाकाभित्र ठूलो क्षेत्रफलमा फैलिएको यो दियालो बंगला दरबार संग्रालय सेतो (श्वेत) रङले सजिएको छ।

श्वेत रङ शान्ति, इमानदारी र सरलताको प्रतीक हो, जसले जीवनमा नयाँ अवसर र आशाको संकेत गर्दछ। त्यहाँ पुग्दा मनमा एक किसिमको व्यग्रता, शान्ति र स्वच्छताको अनुभूति हुन्छ। त्यहाँको परिदृश्य अत्यन्तै रमाइलो हुनुका साथै प्राकृतिक सौन्दर्य निकै मनमोहक छ।

तीन तलाको यस बंगलामा राजाहरूको जीवनशैली, खानपान, व्यवहार र प्रवृत्तिको अनुसन्धान गर्नका लागि एकपटक सबैले दियालो बंगला दरबार सङ्ग्रालयको परिभ्रमण गर्नु अत्यावश्यक देखिन्छ।

तत्कालीन समयमा राजा महेन्द्रले स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरूको स्वागत, औपचारिक भेटघाट, विश्राम, बैठक तथा सरकारी कामकाजका लागि पनि यो बंगला प्रयोग गर्ने गर्दथे।

संग्रालयभित्र राजपरिवारले प्रयोग गरेका शयनकक्ष, बैठक कक्ष, भोजन कक्ष, भर्‍याङ, पुराना फर्निचर, तस्बिरहरू लगायत अन्य ऐतिहासिक सामग्रीहरूको प्रत्यक्ष अध्ययन-अवलोकन गर्न सकिन्छ।

दियालो बंगला दरबार आधुनिक शैलीमा निर्माण गरिएको छ, जसमा पूर्वीय र पश्चिमी वास्तुकलाको सुन्दर मिश्रण देखिन्छ। फराकिलो बरन्डा, ठूलो बगैँचा तथा प्राकृतिक प्रकाश र हावापानीको सहज प्रवाहलाई ध्यानमा राखेर यसको डिजाइन गरिएको पाइन्छ।

अझ रोचक कुरा त के छ भने, राजा महेन्द्रको निधन भएको शयनकक्ष (बेडरुम) पनि संग्रालयमा सुरक्षित रूपमा राखिएको छ। यो बंगला राजतन्त्रकालीन इतिहास, वास्तुकला र सांस्कृतिक सम्पदाको उच्च महत्त्व बोकेकाले आजको नयाँ पुस्ताका लागि चासो र खोजको विषय बन्न सक्छ।

नेपालको राजतन्त्रको इतिहासबारे तथ्यपूर्ण जानकारी लिन, शोध-खोज गर्न, अध्ययन-अनुसन्धान गर्न तथा सामग्री संकलनका लागि यसले ठूलो सहयोग पुर्‍याउने विश्वास लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *