‘ग्यास पर्याप्त छ’ दाबी गर्दै सरकार, घण्टौँ लाइन बस्दा पनि रित्तै फर्किंदै उपभोक्ता (तस्बिरहरू)
काठमाडौं । देशभरका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा एलपी ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन मुस्किल भएपछि उपभोक्ताहरू बिहानैदेखि ग्यास डिपो तथा सिलिन्डर बिक्री केन्द्रहरूमा लामो लाइन बस्न बाध्य भएका छन्। घण्टौँसम्म लाइनमा बसे पनि अधिकांश उपभोक्ताले ग्यास नपाएरै रित्तो सिलिन्डर फर्काउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।
राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा समेत ग्यासको सहज उपलब्धता नहुँदा गृहणी, विद्यार्थी तथा होटल व्यवसायीहरू मारमा परेका छन्। ग्यास नपाएपछि दाउरा बाल्न वा विद्युतीय चुल्हो प्रयोग गर्न बाध्य हुनुपरेको उपभोक्ताहरूको भनाइ छ। एक त बजारमा ग्यास पाउनै मुस्किल छ, पाइहाले पनि कालोबजारी गर्नेहरूले महँगो मूल्य असुल्ने गरेको उनीहरूको गुनासो छ।
सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा ग्यासको चरम अभाव देखिएको छ। ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन् ।
यता, ग्यासको अभाव कहिलेसम्म रहने भन्नेबारे सम्बन्धित डिलर तथा सरोकारवाला निकायबाट स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन। उपभोक्ताले कृत्रिम अभाव भए त्यसको छानबिन गरी सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
ग्यास डिलरहरूले भने मागअनुसार आपूर्ति नभएका कारण समस्या आएको बताउँदै आएका छन्। उद्योगी र विक्रेताहरूले ग्यासको अभाव रहेको स्वीकार गरिरहँदा सरकारी अधिकारीहरूको ‘समस्या छैन’ भन्ने अभिव्यक्तिले उपभोक्तालाई झनै आक्रोशित बनाएको छ।
मागअनुसार आपूर्ति भइरहेको आयल निगमको दाबी
यता नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको स्पष्ट पारेको छ।
निगमले २०८३ असार ३१ गतेको निर्णयअनुसार १४.२ किलोग्राम क्षमताको ग्यास सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाइसकेको जनाएको छ।
निगमले ग्यास उद्योगीहरूलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्दै विक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखी व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिएको छ। साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई प्राथमिकता दिन पनि आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा केही ग्यास उद्योगको उच्च मागलाई ध्यानमा राख्दै साउन १६ गते शनिबारदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरिएको छ।
निगमका अनुसार खाना पकाउने ग्यासको आयात र बिक्री–वितरण नियमित रूपमा भइरहेको छ र आगामी दिनमा पनि निरन्तर रहनेछ। त्यसैले आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।
निगमले हाल मासिक औसत ४७ हजार मेट्रिक टन ग्यास खपत हुने जनाएको छ। वर्तमानमा मागअनुसार नै आपूर्ति भइरहेको र आकस्मिक रूपमा बढेको मागलाई ध्यानमा राख्दै यस महिनाको आयात परिमाणसमेत बढाइसकिएको जानकारी दिएको छ।
साउन १ गतेदेखि १८ गतेसम्म कुल ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। आयातको अवस्थाले आपूर्तिमा कुनै समस्या नरहेको देखिएकाले हल्लाको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न निगमले पुनः आग्रह गरेको छ।
यस्तै, काठमाडौं उपत्यकामा उपभोक्ताको सहजताका लागि ग्यास उद्योगहरूले आफ्नै उद्योग परिसरबाट समेत बिक्री–वितरणको व्यवस्था मिलाएको निगमले जनाएको छ। उपत्यकाबाहिर ग्याससम्बन्धी कुनै गुनासो भएमा निगमका प्रदेश कार्यालय, शाखा कार्यालय तथा डिपोमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
निगमले ग्यास पर्याप्त रहेको दाबि गरेपनि काठमाडौंका अधिकांश ग्यास डिपोमा ग्यासको अभाव रहेको निगमले दिने भनिएको टेकुमा पनि ठूलो लाइन रहेको छ।
ग्यासको आपूर्ति केही दिनमै सहज हुने मन्त्रालय दाबी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मंगलबार विज्ञप्ति जारी गर्दै अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरेका छन्।
मन्त्रालयले सर्वसाधारण उपभोक्तालाई कुनै पनि भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ। यसका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र पारेको छ।
नेपाल आयल निगम र ग्यास उद्योगीहरूसँगको सहकार्यमा ग्यासको आयात, भण्डारण र वितरण प्रणालीलाई पारदर्शी तथा अनुमानयोग्य बनाउन सुधारका कदमहरू सुरु भइसकेका छन्। मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन पनि सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।
यसैबीच, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा कानुनविपरीत कार्य गरेर उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।







No ads found for this position

डिसी नेपाल
Facebook Comment