राजु पाण्डेमाथि महेश बस्नेतको गम्भीर आरोप: ‘भावुकता देखाएर नाटक गरियो’

डिसी नेपाल
२१ साउन २०८३ १०:४५

काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि तीव्र राजनीतिक र नैतिक हमला गरेका छन्।

हालै पाण्डेले नेपाली सेनाका  एक अधिकृतमाथि गरेको व्यवहार र त्यसपछि उत्पन्न आलोचनालाई लिएर बस्नेतले उनको कार्यशैली र दोहोरो चरित्रमाथि कडा प्रश्न उठाएका हुन्।

केही दिनअघि सांसद पाण्डेले नेपाली सेनाका एक जना अधिकृतलाइ धाकधम्कीपूर्ण शैलीमा थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त घटनापछि सार्वजनिक रूपमा तीव्र आलोचना खेपिरहेका पाण्डेले स्पष्टीकरण वा बचाउका क्रममा देखाएको भावुकतालाई बस्नेतले ‘नक्कली अभिनय’ र ‘गोहीको आँसु’को संज्ञा दिएका छन्।

पाण्डेको उक्त कदम र व्यवहारप्रति टिप्पणी गर्दै एमाले सचिव बस्नेतले विगतमा काठमाडौंका हजारौं गरिब तथा सुकुम्बासीहरूलाई घरबारविहीन बनाएर उनीहरूका आँखाबाट बलिन्द्र आँसु झार्न बाध्य पार्नेहरू नै आज आफूमाथि सामान्य प्रश्न उठ्दा भावुक बनेको आरोप लगाए।

“हिजो गरिबका छाप्रा भत्काएर उनीहरूलाई सडकमा पुर्‍याउँदा आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्नेहरू आज सामान्य आलोचना हुनासाथ भकानिएर आँसु झार्दै भावुकताको नाटक गरिरहेका छन्,” बस्नेतले भने, “अरूलाई पीडा दिँदा कठोर बन्ने र आफू आलोचित हुँदा भावुक हुने यस्तो दोहोरो चरित्र बोकेको क्रूर र दम्भी व्यक्तिबारे जनताले यथार्थ बुझ्न आवश्यक छ।”

बस्नेतले प्रधानमन्त्री बालेन शाहको लोकप्रियताको आडमा नाम बेच्दै पाण्डेले आफूलाई ‘अब्बल शासक’ ठान्ने गरेको भन्दै कडा आपत्ति जनाए। सजाय दिनुपर्ने ठाउँमा यस्ता नक्कली पात्रहरूलाई पुरस्कार दिएर जिताइएको उल्लेख गर्दै उनले भने, “समाजले यस्ता पात्रहरूको गोहीको आँसु बेलैमा चिन्न सकेन भने भोलि अझ धेरै दुःख भोग्नुपर्ने अवस्था आउन सक्छ।”

बस्नेतले जनतालाई अब व्यक्तिको अभिनय, भावुकता र नाटकभन्दा पनि उसको काम, क्षमता र सर्वसाधारणप्रतिको व्यवहारका आधारमा मूल्यांकन गर्न आग्रह गरेका छन्। “आखिर शासनको असली परीक्षा आँसु बगाउने क्षमताले होइन, जनताको आँसु पुछ्ने क्षमताले हुन्छ,” बस्नेतको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *