अब दुई घण्टामा नारायणगढदेखि बुटवल
चितवन। नारायणगढ-बुटवल सडक खण्ड निर्माण सुरु भएको झण्डै सात वर्षपछि सहज बनेको छ।
स्तरोन्नति भएसँगै विगतमा घण्टौँ जाम र सास्ती खेप्नुपरेको सो सडक खण्डमा अहिले सामान्यतया दुई घण्टामै नारायणगढबाट बुटवल पुग्न सकिने भएको छ। निजी सवारी चालकहरूका अनुसार दाउन्ने खण्ड सुधारिएपछि कतिपयले डेढ घण्टादेखि एक घण्टा ५० मिनेटभित्रै यो दूरी पार गरिरहेका छन्।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले विगतका दुःख बिर्साउने गरी सडक फराकिलो र गुणस्तरीय बनेको अनुभव सुनाएका छन्। ग्याँस उद्योगी विमल कालाखेतीले गत साता डेढ घण्टामै बुटवलबाट नारायणगढ आइपुगेको बताएका छन्।
यस्तै, रूपन्देहीका उद्योगी प्रकाश आचार्यले विगतमा दसैँ र वर्षायाममा दाउन्नेको जामका कारण १६ घण्टासम्म सडकमै बिताउनुपरेको स्मरण गर्दै अहिले १ घण्टा ५० मिनेटमा घर पुग्न सकिएको जनाएका छन्।
विगतमा सडकको सास्तीका कारण यात्रुहरू भैरहवाबाट विमानमार्फत काठमाडौँ हुँदै चितवन आउन वा पोखरा र कालीगण्डकी करिडोरको घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए।
चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालका अनुसार यात्रु चढाउने र झार्ने सार्वजनिक बसहरू पनि अहिले तीन घण्टाभित्रै गन्तव्यमा पुग्ने गरेका छन्। सडक सहज भएसँगै सवारी साधनमा हुने दैनिक टुटफुट र मर्मतको खर्चसमेत घटेको छ।
नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार ६५ किलोमिटरको पूर्वी खण्ड (नारायणगढ-दाउन्ने) र ४९ किलोमिटरको पश्चिमी खण्ड (दाउन्ने-बुटवल) गरी दुवै खण्डको भौतिक प्रगति ९२ प्रतिशतको हाराहारीमा पुगेको छ। अब सडक सुरक्षा र केही स्थानमा नाली जोड्ने काम मात्र बाँकी रहेको छ।
एशियन विकास बैंकको ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानीमा करिब १६ अर्ब ९९ करोड रुपैयाँको लागतमा चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले वि.सं. २०७५ चैत ८ गतेदेखि यसको निर्माण सुरु गरेको थियो। विस्तारपछि १ १३.३५ किलोमिटर लामो यो सडक साधारण क्षेत्रमा चार लेन र बजार क्षेत्रको २८ किलोमिटर खण्डमा छ लेनको बनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment