भत्किएको तीन वर्षपछि बिरिङ खोलामा नयाँ पुल निर्माण सुरु
भद्रपुर (झापा) ।तीन वर्षअघिको बाढीले क्षतिग्रस्त बनाएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल अन्ततः पुनर्निर्माण हुने भएको छ। बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डमा पर्ने सो पुल निर्माणका लागि बुधबार अर्जुनधारा नगरपालिकासँग निर्माण कम्पनीको औपचारिक सम्झौता भएसँगै काम अघि बढेको हो।
करिब तीन वर्षअघि आएको बाढीले पुलमा क्षति पुर्याएपछि सवारीसाधन तथा पैदलयात्रीले जोखिम मोलेरै आवतजावत गर्दै आएका थिए। तर, गत वर्ष २०८२ साल साउनको बाढीले जीर्ण बनेको सो पुल पूर्ण रूपमा बगाएपछि झापा र इलाम जोड्ने यो महत्त्वपूर्ण सडक सम्पर्क ठप्प बनेको थियो। पुल नहुँदा स्थानीयवासी तथा सवारीसाधनले घुमाउरो वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य थिए।
पुल निर्माणको जिम्मेवारी समता कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले मूल्य अभिवृद्धि कर (भ्याट)सहित कुल २६ करोड रुपैयाँमा पाएको छ। निर्माण कम्पनीका सञ्चालक दिनेश राउतसहितको प्राविधिक टोलीले बिहीबार आयोजना स्थलको निरिक्षण गर्दै शुक्रबारदेखि नै निर्माण कार्य थाल्ने प्रतिबद्धता जनाएको छ।
नगरप्रमुख बलदेवसिंह गोम्देनसहितको जनप्रतिनिधि टोलीले पनि पुल निर्माणस्थलको अनुगमन गरेको छ। निरीक्षणपछि खुसी व्यक्त गर्दै नगरप्रमुख गोम्देनले भने,
“बिरिङ पुलको निर्माण कार्य पुनः सुरु हुनु सम्पूर्ण नगरवासीका लागि निकै सुखद् खबर हो। लामो समयदेखि स्थानीयले भोग्दै आएको सास्ती अब अन्त्य हुनेछ। पुललाई गुणस्तरीय र समयमै सम्पन्न गराउन नगरपालिकाका तर्फबाट खेल्नुपर्ने सबै प्रकारको समन्वयात्मक भूमिका प्रभावकारी रूपमा निर्वाह गरिनेछ।”
सम्झौताअनुसार पुल निर्माण सम्पन्न गर्न साढे दुई वर्षको समयसीमा तोकिएको छ। यद्यपि, तोकिएको अवधिभन्दा अगावै काम सक्ने लक्ष्य राखिएको छ। यो पुल बनेपछि झापा र इलामबीचको आवतजावत एवं व्यापारिक सम्पर्क पुनः सहज र द्रुत हुने विश्वास लिइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment