राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, आजै बोलकबोल हुने

डिसी नेपाल
२२ साउन २०८३ ११:३१

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रु ६० अर्ब तरलता (निक्षेप) प्रशोचन गर्न ३१ दिने निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिनुपर्नेछ।

प्रतिस्पर्धी बोलकबोलका आधारमा तय हुने ब्याजदरमा संकलन गरिने यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २२ गते गरिनेछ। बोलकबोलमा न्यूनतम रु १० करोडदेखि अधिकतम रु १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ। समान ब्याजदर परेको खण्डमा र मागभन्दा बढी आवेदन परेमा समानुपातिक (प्रो-राटा) आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी छुट्टै निक्षेप खातामा राखिनेछ। भुक्तानी मिति समाप्त भएपछि निर्धारित ब्याजसहितको रकम पुनः सम्बन्धित बैंककै खातामा जम्मा गरिनेछ।

यसरी जम्मा गरिएको निक्षेप रकमलाई बोलवाला बैंकले आफ्नो लगानी पोर्टफोलियोमा गणना गर्न पाउने छैनन्। तर, राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य तरलता अनुपात तथा अन्य तरलता सूचकमा भने यसलाई गणना गर्न पाइनेछ। साथै, यो निक्षेप रकम परिपक्व (म्याच्योर) हुनुअघि फिर्ता वा समय अगावै भुक्तानी लिन नपाइने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *