नाट्टा निर्वाचन: अनुभव र नयाँ पुस्ताको संयोजनसहित जिस्वानको प्यानल चुनावी मैदानमा
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को सन् २०२६–२०२८ कार्यकालका लागि आगामी साउन २९ गते हुने निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार जिस्वान तुलाधर नेतृत्वको ‘टिम जिस्वान’ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ।
‘एक दृष्टिकोण, एक टिम, एक नाट्टा’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको उक्त प्यानलले नाट्टाका सदस्य व्यवसायीहरूसँगको भेटघाट, छलफल तथा अन्तरक्रियालाई मुख्य प्राथमिकतामा राखेको छ।
संस्थागत सुधार, सदस्य व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन क्षेत्रको दिगो विकास तथा नाट्टालाई थप प्रभावकारी र व्यावसायिक बनाउने विषयलाई आफ्नो प्यानलले प्रमुख एजेन्डा बनाएको उम्मेदवारहरूले जनाएका छन्।
पर्यटन क्षेत्रमा २५ वर्षको लामो अनुभव तथा नाट्टामा निरन्तर १५ वर्षको संस्थागत योगदान रहेकी जिस्वान तुलाधरले अनुभव, समावेशिता र परिणाममुखी नेतृत्वलाई नै आफ्नो जितको मुख्य आधार बनाएकी छन्।
नाट्टाका विभिन्न जिम्मेवारीमा रहेर पाँच कार्यकाल सफलतापूर्वक काम गरिसकेकी उनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत पदका लागि नभई संस्था सुदृढीकरण, सदस्यहरूको हित संरक्षण र समग्र पर्यटन व्यवसायको विकासका लागि भएको बताउँदै आएकी छन्।
उनले आफू महिला भएकै कारण मात्र नेतृत्व दाबी नगरेको स्पष्ट पार्दै अनुभव, क्षमता र कामप्रतिको प्रतिबद्धताका आधारमा सदस्यहरूमाझ मत माग्न आएको बताएकी छन्। आगामी निर्वाचनमा तुलाधर निर्वाचित भएमा नाट्टाले करिब एक दशकपछि दोस्रो महिला अध्यक्ष पाउनेछ।
व्यवसायसँगै साहसिक पर्यटन र अन्तर्राष्ट्रिय मोटर खेलकुद क्षेत्रमा समेत उत्तिकै सक्रिय तुलाधरले सन् २०१६ मा एक्लै अन्नपूर्ण आधार शिविरको सफलतापूर्बक पदयात्रा गरेकी थिइन्।
उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला चालकको प्रमाणपत्र (इन्टरनेसनल ड्राइभिङ अनुमति) प्राप्त गर्ने चालकसमेत हुन्। उनले थाइल्यान्ड, इन्डोनेसिया र फ्रान्स जस्ता देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मोटर ड्राइभिङ प्रतियोगिताहरूमा नेपालको तर्फबाट प्रतिनिधित्व गरिसकेकी छन्। तुलाधरले सच्चा नेतृत्व भनेको चुनौतीहरूबाट पछि हट्नु नभई तिनलाई अवसरमा रूपान्तरण गर्ने क्षमता राख्नु भएको उल्लेख गरेकी छन्।
यसैगरी, ‘टिम जिस्वान’बाट उपाध्यक्ष पदकी उम्मेदवार प्रज्ञा पाठक शर्माले नाट्टाको समग्र संस्थागत विकाससँगै संस्थालाई प्रविधिमैत्री रूपमा रूपान्तरण गर्ने विषयलाई प्राथमिकतामा राखेकी छन्।
साहसिक पर्यटनको व्यापक प्रवर्द्धन, महिला तथा नयाँ पुस्ताका युवा पर्यटन व्यवसायीहरूको सक्रिय सहभागिता विस्तार र अन्तर्राष्ट्रिय बजारसँग नाट्टाको पहुँच तथा सम्बन्ध थप सुदृढ बनाउने विषयलाई उनले आफ्नो प्रमुख एजेन्डा बनाएकी छन्। पाठक शर्माले सदस्यकेन्द्रित, पूर्ण पारदर्शी र समयअनुकूलको सुदृढ नाट्टा निर्माणका लागि आफू दृढताका साथ प्रतिबद्ध रहेको बताएकी छन्।
‘टिम जिस्वान’को तर्फबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश थापा, महासचिवमा सुशील पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल र सहकोषाध्यक्षमा डा. बिमला दाहाल उम्मेदवार रहेका छन्।
त्यसैगरी, कार्यसमिति सदस्य पदका लागि त्रिलोचन न्यौपाने, अनु अधिकारी (राउत), सुदर्शन गजुरेल, दिनेश घिमिरे र रोमन सापकोटालगायतका अनुभवी एवं ऊर्जावान् पर्यटन व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment