कर्णालीका जनता चामल कुरिरहेका छन्, सांसदहरू समीकरण : केपी खनाल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना मात्र मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री पदमा पुगिसकेको बताए।
उनले प्रदेश सरकार गठन र विघटनको खेल सबैभन्दा बढी राज्यको उपस्थिति र स्थिरता आवश्यक रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको बताए।
‘प्रदेश गठन भई सञ्चालनमा आएको ९ वर्ष पूरा नहुँदै ७ प्रदेशमा बढीमा १४ जना मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन र ३३ जना उक्त पदमा पुगिसक्नुभएको छ। यो अस्थिरताको सबैभन्दा निर्भम अभ्यास कहाँ भयो भने, जहाँ स्थिरता सबैभन्दा बढी खाँचो थियो—कर्णाली र सुदूरपश्चिममा,’ उनले भने।
देशकै सबैभन्दा विपन्न र दुर्गम क्षेत्रका नागरिक आधारभूत आवश्यकता पूरा हुने अपेक्षामा रहे पनि प्रदेश नेतृत्व भने सत्ता समीकरण र कुर्सीको खेलमा केन्द्रित भएको उनको आरोप थियो।
खनालले कर्णाली र सुदूरपश्चिमका नागरिकले अझै पनि आधारभूत सेवा, खाद्यान्न, स्वास्थ्य र शिक्षाका लागि संघर्ष गर्नुपरेको बताए। राज्यको उपस्थिति सबैभन्दा बढी आवश्यक रहेका यी प्रदेशमा सरकार परिवर्तन र सत्ता समीकरणको खेलले जनताको वास्तविक समस्या ओझेलमा परेको उनको भनाइ थियो।
उनले हुम्लामा सुत्केरी हुन नसकेर आमाले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको, जुम्लाका बालबालिका हिउँदमा समेत एक जोर चप्पलको भरमा विद्यालय जानुपर्ने तथा कालिकोट र मुगुका गोदाममा चामल पुग्दा चाडपर्व नै सकिसक्ने अवस्था रहेको उल्लेख गरे।
‘हुम्लामा सुत्केरी हुन नसकेर एउटी आमाले बाटोमै प्राण त्याग्छिन्, जुम्लाको बालक आज पनि हिउँदमा एक जोर चप्पलको भरमा विद्यालय जान्छ। कालिकोट र मुगुको गोदाममा चामल पुग्दा चाडपर्व सकिसकेको हुन्छ,’ उनले भने।
कर्णालीका नागरिक यस्ता आधारभूत समस्यासँग जुधिरहेका बेला प्रदेशको राजधानी वीरेन्द्रनगरमा भने सत्ता जोगाउने र नयाँ समीकरण बनाउने खेल भइरहेको खनालले बताए।
उनका अनुसार प्रदेश सरकारमा विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप तथा सांसदहरूलाई होटलमा राखिनेजस्ता गतिविधिले राजनीतिक अस्थिरतालाई थप बढाएको छ।
उनले भने, ‘तर कर्णालीको राजधानी वीरेन्द्रनगरमा भने अर्कै व्यथा चल्छ—विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप, होटल–होटलमा सांसदको सुरक्षित बसाइँ। जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन्।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment